
काठमाडौं— नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। पार्टी सभापति एवम् दलका नेता शेरबहादुर देउवाले आइतबार प्रतिनिधिसभा बैठकअघि संसदीय दल कार्यसमितिको बैठक बिहान ७ बजे र लगत्तै संसदीय दलको बैठक बोलाएका हुन्।
विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न दलको बैठक बोलाइएको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।
बैठक बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ।
सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसमेत मन्त्री र सांसदहरुविरुद्ध समेत आरोप लागेको भन्दै त्यसबारे छानविन गर्न संसदीय छानविन समिति गठनको माग उठाएको कांग्रेसले संसद्मा गृहमन्त्री लामिछानेलाई रोष्टमबाट सम्बोधन गर्न अवरोध गर्दै आएको छ।
कांग्रेसले छानविन समिति बनाउनुपर्ने बटमलाइन बनाएर अवरोध गरेपछि सरकारले आइतबार राति १२ बजेदेखि लागू हुने गरी संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
आइतबार बिहान बस्ने दलको बैठकले यी लगायत विभिन्न विषयमा धारणा बनाउने प्रमुख सचेतक रमेश लेखकले बताए।