News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
नयाँ वर्ष शुभारम्भ, २०८१ साल उल्लासमय बनोस् शुभकामना! 

आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ। नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरूले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन्।

नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ। नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्त गर्दै, मिष्ठान्न भोजन बाँड्दै, सांस्कृतिक उत्सव आयोजना गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ। सफलता प्राप्त गर्न आजका दिन नयाँ योजना निर्माण एवम् दृढसंकल्प गर्ने परम्परा समेत रहेको छ। आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ।

Prabhu Bank

आज बिहानै स्नान गर्ने, मन्दिर जाने, घर सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ। नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ। 

विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वत्लाई विक्रम सम्वत् भनिएको हो। मल्लकालदेखि नेपालमा मौलिक सम्वत्का रुपमा विक्रम सम्वत् चलेको हो। नेपालमा मात्र मौलिकरूपमा यो सम्वत् चल्छ। भारतमा सरकारी सम्वत् शक सम्वत् भए पनि व्यवहारमा इस्वी सम्वत् चलेको छ।

विक्रम सम्वत् १३५ देखि शक सम्वत्, सम्वत् ६३३ देखि मानदेव सम्वत्, विक्रम सम्वत् ९३६ देखि नेपाल सम्वत् चलेको हो। यी सम्वत्मध्ये अहिले मानदेव सम्वत्को चलन हराइसकेको छ। १२औँ शताब्दीमा गुजरातबाट आएका विद्वान्ले किताब सार्दा पहिलोपटक विक्रम सम्वत्को प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासविद्हरू बताउँछन्। 

न्यूजगृहका पाठक, शुभेच्छुक, विज्ञापनदाता, सहकर्मीलगायत सम्पूर्ण नेपालीका लागि सुख, समृद्धि र सुस्वास्थ्यको कामनासहित वर्ष २०८१ को शुभकामना! 

२०८१ साल उल्लासमय बनोस्!  
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  ०६:११
Weather Update