काठमाडौं— पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले उपत्यकावासीलाई मेलम्चीको पानी ल्याएर पिलाउँछु भन्दै सपना बाँड्दा आकाशको फल भनेर कसैले पत्याएनन्। उल्टो उनलाई पागलको संज्ञा दिँदै यस्तो असम्भव कुरा बोल्ने भनेर भनिन्थ्यो। उनको दीर्घकालीन सोच असम्भव रहेनछ भन्ने कुरा पुष्टि गर्न तीन दशकभन्दा बढी समय लाग्यो।
लामो समयको प्रतीक्षापछि उपत्यकावासीको धाराधारामा मेलम्ची खानेपानी आयो। बढ्दो जनसङ्ख्यासँगै पानी आवश्यकता पनि बढ्न थाल्यो। काकाकुल काठमाडौंको तिर्खा मेटाउन आएको मेलम्चीले उपत्यकावासीमा खुसी ल्यायो। पानीको अभाव बढेपछि रातभरि निन्द्राको माया मारेर पानीका लागि लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएकामा उपत्यकावासीमा खुसी छाएको थियो।
मेलम्ची खानेपानी आयोजनाको पहिलो उद्घाटन तत्कालीन खानेपानी मन्त्री बिना मगरले २०७७ असार २१ गते गरेकी थिइन्। आयोजना सुरु भएको २२ वर्षपछि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ चैत २० गते काठमाडौंको भृकुटीमण्डपमा निर्माण गरिएको ढुङ्गेधारा खोलेर आयोजनाको औपचारिकरूपमा उद्घाटन गरिन्।
दुई वर्षअघि मेलम्चीमा बाढी नआएको भए यहाँका उपभोक्ताको धारामा निरन्तर खानेपानी आउने थियो। दुई वर्षअघि मेलम्चीमा आएको बाढीसँगै उपत्यकावासीको खुसी पनि बगायो। गृह मन्त्रालयको तथ्याङ्कअनुसार मेलम्चीको बाढीका कारण आयोजनामा करिब दुई अर्बको क्षति भएको थियो। बाढीका कारण आयोजना नै अनिश्चित बन्यो।
खानेपानी तथा सरसफाइ मन्त्रालयले मनसुनजन्य विपद्बाट आयोजनालाई जोगाउन मनसुन सुरु हुनुअगावै आयोजना बन्द गर्दै आएको छ। सरकारलाई हिउँदमा खोल्नुपर्ने र बर्खामा बन्द गर्नुपर्ने बाध्यता जस्तै छ। यो अवस्थाले उपत्यकावासीमा फेरि निराशा पैदा भएको छ। गत साउन २८ र २९ गते आएको बाढीले आयोजनाको संरचनामा पुनः क्षति पुर्यायो।
उक्त बाढीसँगै पानी वितरण रोकिएकोमा खानेपानी मन्त्रालयले मनसुन सकिएपछि पुनः वितरण गरिने बताउँदै आएको थियो। मनसुन सकिए पनि उपत्यकावासीका धारामा भने मेलम्चीको पानी आएन। मौसम पूर्वानुमान माहाशाखाका अनुसार जुन १० देखि नेपालमा मनसुन अवधि सुरु भई चार महिनासम्म रहन्छ।
मन्त्रालयका तत्कालीन सचिव रामआधार साहले आयोजना सुधारका लागि ठेक्का सम्झौता गर्ने निर्माण कम्पनीसँग कहिले संरचनाको विषय, कहिले भुक्तानी तथा मुआब्जाको विरोध लगायत कारण सुधारको काममा ढिलाइ हुँदा मनसुन सकिएलगत्तै खानेपानी उपत्यकामा ल्याउन नसकिएको बताए।
मन्त्रालयका अनुसार पहिरोले आयोजनाको हेडबक्समा क्षति पुगेको थियो। उक्त पहिरो पन्छाएर हेडबक्स सुधारको काम अगाडि बढाउनका लागि मन्त्रालयले चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोसँग आग्रह गरेको थियो।
‘फास्ट ट्र्याक’मा आयोजना पुनर्निर्माण अगाडि बढाउन सरकारले यस सिनो हाइड्रोसँग गरेको सम्झौताको समयावधि नसकिएकाले मन्त्रालयले उक्त कम्पनीलाई पुनर्निर्माण अगाडि बढाउन आग्रह गरेको साहले बताए। सम्झौता अवधि नसकिएकाले प्रक्रियागत सहजतासँगै निर्माण कम्पनीले आयोजना सुधारको कामका लागि बाटो खोलिदियो।
आयोजनाको अस्थायी सुधारपछि गत माघ १ गते उपत्यकामा पुनः मेलम्ची खानेपानी वितरण भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि रहेको ‘ढुङ्गेधारा’ खोलेर खानेपानीको पुनः वितरण शुभारम्भ गरे।
२०८० सालको करिब सात महिना मेलम्चीको पानी पर्खेर बित्यो उपत्यकावासीको। त्यसबीचमा उपभोक्ताले खानेपानीको उही पुरानै समस्याको सामना गर्नुपर्यो। फेरि रातभरि जाग्राम बसेर पानीको लाइनमा बस्नुपर्ने बाध्यताको सुरु भएको थियो। मनसुन सुरु नहुँदै बन्द हुने मेलम्ची आयोजनाका कारण उपभोक्ताले अभाव र सास्ती ब्यहोर्नु परिरहेको छ।
बाढीपहिरो तथा मनसुनजन्य विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि मनसुन सुरु हुनुपूर्व नै आयोजना बन्द गरिँदै आइएको खानेपानी विकास समितिको भनाइ छ। मन्त्रालयका अनुसार बाह्रै महिना मेलम्चीको पानी उपत्यकामा ल्याउन सरकारले दीर्घकालीन सुधारका लागि सरोकारवाला निकायसँग छलफल गरिरहेको छ।
हेडबक्स सार्ने तयारी
खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजनालाई दिगो बनाउँदै उपत्यकावासीलाई बाह्रै महिना पानी वितरण गर्ने लक्ष्यका साथ आयोजनाको हेडबक्स सार्ने तयारी गरिरहेको जनाएको छ। आयोजनाको अहिले (सिन्धुपाल्चोकको हेलम्बु) को हेडबक्स करिब एक किलोमिटरमाथि सार्कस्थलीमा सार्नका लागि नयाँ स्थान प्रस्ताव गरी थप छलफल भइरहेको छ।
हाल हेडबक्स रहेको स्थान हेलम्बु विपद्का हिसाबले असुरक्षित हुनुका साथै बढी लागत लाग्ने भएपछि नयाँ स्थानमा सार्ने विषयमा छलफल अगाडि बढाइएको हो। प्रस्तावित नयाँ स्थान सार्कस्थली अन्तिम निर्णय नभए पनि योबाहेक अन्य विकल्प नदेखिएको खानेपानी मन्त्रालयलले जनाएको छ। मन्त्रालयले थप छलफल तथा अध्ययनलाई पनि अगाडि बढाइरहेको छ।
नयाँ स्थान विपद्का हिसाबले कति सुरक्षित छ? भन्ने आशङ्का सरोकारवालाले गरिरहेका छन्। विगतका जस्तै गल्ती दोहोरिएर फेरि प्राकृतिक विपत्तिका कारण अर्बौँको क्षति बेहोर्नुपर्ने हो कि भन्ने आशङ्का स्थानीय तथा सरोकारवालामा देखिन्छ।
यसैबीच प्रस्तावित नयाँ हेडबक्स सुरक्षित रहेको अध्ययन समिति तथा मेलम्ची खानेपानी विकास समितिले दाबी गर्दै आएका छन्। खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीले नयाँ हेडबक्सका लागि पहिचान गरिएको स्थान हालको स्थानबाट नजिकै रहेको, एक किमिभन्दा कम लम्बाइको थप सुरुङ निर्माण गरे पुग्ने देखिएकाले सार्कस्थलीमा उपयुक्त स्थान रहेको जानकारी दिए।
'हेडबक्स सर्नका लागि प्रस्तावित नयाँ स्थान हालको भन्दा करिब एक सय मिटर उचाइमा छ । यो ‘फ्लसिङ’ विधिबाट निर्माण गर्न सकिने, प्रकृतिको विपद् आएमा न्यूनतम प्रभाव पर्ने, प्रस्तावित स्थानको दायाँ, बायाँ र पिँधमा चट्टान अवस्थित रहेकाले दिगो हुने देखिएको छ,' उनले भने, 'साइड टावर इन्टेक’निर्माण गर्दा मनसुनको औसत बाढी र यस्तै किसिमका अन्य बाढीबाट संरचनामा कम प्रभाव पर्ने, वर्षात्को समयमा जम्मा हुनसक्ने ढुङ्गा, माटो र गेग्रानबाट पानी पथान्तरणमा प्रतिकूल असर नपर्ने देखिएकाले सार्कस्थली उपयुक्त स्थान हो।'
सरकारले आयोजनालाई कसरी दिगो बनाउने भनेर सुरु गरेको अध्ययन र पहल भने यस वर्षको प्रशंसनीय काम हो। आयोजनालाई सुरक्षित र दिगो बनाउँदै बाह्रै महिना उपत्यकावासीलाई खानेपानी उपलब्ध गराउने गरी सरकारले योजना बनाइरहेको मन्त्रालयको भनाइ छ।
दिगो समाधानका लागि साढे चार अर्ब लागत
मेलम्ची खानेपानी आयोजनाको दिगो समाधानका लागि करिब चार अर्ब ५० करोड लाग्ने अध्ययनले प्रारम्भिक अनुमान गरेको छ। उक्त लागत सरकारको आन्तरिक स्रोतले नपुग्ने मन्त्रालयको भनाइ छ। कार्यकारी निर्देशक अन्सारीले लागत व्यवस्थापनका लागि दातृ निकायसँग अनुरोध गर्ने तयारी भइरहेको बताए। कार्यकारी निर्देशक अन्सारीका अनुसार नयाँ हेडबक्स निर्माणका लागि करिब पाँच वर्ष लाग्नेछ।
मेलम्चीको वैकल्पिक व्यवस्था जरुरी
गत साता मन्त्रालयले आयोजना गरेको खानेपानीको दिगो व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा धारणा राख्दै प्रतिनिधि सभा सदस्य तथा अन्य सरोकारवालाले खानेपानीका लागि मेलम्चीबाहेक अन्य विकल्प पनि खोजी गरिनुपर्नेमा जोड दिए।
खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव सुरेश आचार्यले काठमाडौंमा बढ्दो जनसङ्ख्यासँगै मेलम्ची खानेपानीले आवश्यकता अनुसारको माग पूरा गर्न नसक्ने भन्दै अन्य वैकल्पिक स्रोतको विषयमा छलफल भइरहेको जानकारी दिए ।
मेलम्ची आयोजना पनि अनिश्चित भइरहेकाले खानेपानीको वैकल्पिक व्यवस्थापनका लागि अन्य स्रोतको खोजी हुनुपर्नेमा सहभागीले जोड दिएका हुन्। सिस्नेरी, कुलेखानीको ड्यामको पानी प्रयोग गर्न सकिने, त्रिशूलीको पानी लिफ्टिङ गरेर, बागमती, शिवपुरी कोड्कुको खानेपानी पनि विकल्प हुनसक्ने विज्ञले सुझाएका छन्। रासस