News Griha :: न्यूजगृह
लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिने

बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले शुक्रबार दिउँसो १ बजे प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि चैत्र २३ गते मुख्यमन्त्री बनेका महराले शुक्रबार प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्ने कार्यसूची छ। 

संविधानबमोजिम मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ। तर महराले एक साता नबित्दै विश्वासको मत लिन लागेका हुन्। प्रदेश सभाको शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। 

महरा गठबन्धनमा रहेका पाँच दल र एक स्वतन्त्र सांसद समेतको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। ८७ सदस्यीय प्रदेश सभामा उनलाई प्रदेश सभामा ४८ सांसदको समर्थन छ। तर मुख्यमन्त्री नियुक्त हुनुभन्दा अघि उनले गरेको सहमति बमोजिम काम नगरेको भन्दै सरकारमा सहभागी साना दलहरू असन्तुष्ट देखिन थालिसकेका छन्।

त्यहीकारण महराले हतारिएर विश्वासको मत लिने तयारी गरेका हुन्। 
 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ०८:२८
Weather Update