News Griha :: न्यूजगृह
राजस्व चुहावट, छली, ठगी, तस्करीविरुद्ध सरकार निर्मतापूर्वक अघि बढ्ने

पर्सा— गृहमन्त्री रवि लामिछानेले राजस्व चुहावट, छली, ठगी, तस्करी जस्ता गैरकानुनी गतिविधि गर्ने विरुद्ध सरकार निर्मतापूर्वक अघि बढ्ने बताएका छन्। गृह र अर्थ मन्त्रालयद्वारा वीरगञ्जमा बिहीबार आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी गोष्ठीमा उनले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताए।

गृहमन्त्री लामिछानेले बिलविजकको विषयमा सरकारले गम्भीरतापूर्वक लिने बताए। ‘अन्डरबिलिङ, गलत बिलिङको जुन समस्या देखिएको छ। त्यसलाई पूर्ण रुपमा नियन्त्रण गर्ने कदम चाल्ने रणनीतिसहित अघि बढ्नेछौँ,’ उनले भने, ‘बिल नबनाउने, गलत बिल बनाउने। एउटा सामान ल्याउँदा अर्को समानको बिल गराउने कार्यलाई गम्भीरतापूर्वक लिनेछौँ।’

गृहमन्त्री लामिछानेले राजस्व सङ्कलनमा देखिएका चुनौतीलाई समाधान गर्न सक्रिय भएर सरकार लागि परेको दाबी गरे। ‘बजारमा छ्याप्छ्याप्ति अखाद्य वस्तुहरू छन्। किसानले उत्पादन गरेका दूध  फालिने अवस्था सृजना भएको छ। आफ्नै उत्पादनले बजार पाइरहेका छैनन् । यो कुरा देखेर पनि प्रशासनले वास्ता गरेका छैनन् भने यो कुरामा हामीलाई कुनै पनि हालतमा सह्य हुँदैन,’ उनले भने, ‘म आफैँले पनि राम्रो काम गर्न सकिन भने प्रधानमन्त्रीले मलाई पनि माया गरेर राख्नुहुन्न। यो कुरा मलाई मात्रै होइन, सबैलाई लागू हुन्छ ।’

गृहमन्त्री लामिछानेले बजारमा प्रतिबन्धित वस्तुहरु पर्याप्त मात्रामा भइरहेको प्रति असन्तुष्टि जनाउँदै सो प्रतिबन्धित आयातलाई नियन्त्रण गर्नेतर्फ अग्रसर हुन सबै सरोकारवाला निकायलाई निर्देशन दिए। गृहमन्त्री लामिछानेले अवैध तस्करी तथा भन्सार छलीका गतिविधिलाई कडिकडाउ ढङ्गले नियन्त्रण गर्न सुरक्षा निकाय तथा अन्य प्रशासनिक निकायलाई निर्देश गरे।

गृहमन्त्री लामिछानेले उद्योगी/व्यवसायीलाई ढुक्क भएर उद्योगधन्दा तथा व्यापार गर्ने वातावरणको व्यवस्था गर्ने बताए। उनले कानुन र विधिअनुसार चलेका उद्योग व्यवसायलाई संरक्षण र सुरक्षा प्रदान गर्ने पनि प्रतिबद्धता व्यक्त गरे। 

गृहमन्त्री लामिछानेले मधेस प्रदेशबाट नै मुलुकमा नियम कानुन र थिति बसाल्ने कामको सुरुवात थालेको दाबी गरे।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  २१:०५
Weather Update