
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सेवाका रुपमा लिनुपर्ने राजनीति पछिल्लो समय विकृत भएको बताएका छन्। राजनीतिमा लागेकाहरू निहित स्वार्थमा लाग्दा यो क्षेत्र बदनाम भएको उनले बताए।
बिहीबार गंगादेवी थपलियाको जीवनीमा आधारित पुस्तक ‘जीवन यात्रा’ लोकार्पण समारोहमा उनले राजनीतिलाई सेवाको रुपमा अवलम्बन गर्नुपर्नेमा जोड दिए।
उनले थपलिया राजनीतिलाई सेवाका रुपमा लिने व्यक्तित्व भएको भनाइ राखे। थपलिया समाजसेवामा कुशल व्यक्तिसँगै राजनीतिज्ञ पनि भएको भन्दै राजनीतिलाई पेसा नभइ सेवाका रुपमा प्रस्तुत गरेको उनले बताए।
उनले भने, ‘राजनीति लेखपढले मात्र हुँदैन। राजनीति अहिले पछिल्लो दिनमा एक प्रकारले विकृत जस्तो भएको छ। राजनीति भन्नेबित्तिकै ओढ्ने ओछ्याउने व्यवसाय जस्तो, छोराछोरी पाल्ने पेसा जस्तो मानीरहेको बेला राजनीति गर्ने मान्छे भन्नेबित्तिकै डराउने बेलामा गंगादेवी त्यस्तो नाम हो जसले राजनीतिलाई पेसा होइन सेवाको रुपमा अवलम्बन गर्नुभएको थियो।’