News Griha :: न्यूजगृह
कस्तो होला नयाँ वर्षको पहिलो दिनको मौसम?

काठमाडौं— कस्तो होला नयाँ वर्षको पहिलो दिनको मौसम भन्ने कौतूहल जो कसैमा पनि हुनसक्छ। नयाँ वर्ष २०८१ वैशाख १ गते त शनिबार नै परेकाले बिदा मनाउन विशेष कार्यक्रम पनि बनेको हुन्छ। प्रिमनसुनको सुरुआत भएकाले मौसमको हालखबर प्रति सबैको चासो हुनु स्वाभाविक नै हो।

त्यसदिनको मौसमका बारेमा जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार दिउँसो  देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने जानकारी दिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरू साथै बाँकी पहाडी भूभागको एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना पनि देखाएको छ। कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरू साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखा जनाउँछ।

शनिबार राती भने गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

उपत्यकामा वर्षाले राहत 

आज भने केही दिन यता बाक्लो धुलोले प्रदुषित भएको काठमाडौं उपत्यकाको आकाश आज अपरान्ह परेको पानीले सफा बनाएको छ। श्वासप्रश्वासमा समेत जोखिम हुने गरी वायु प्रदुषण भएको भनेर चिकित्सकहरूले चेतावनी नै दिएका थिए। तर अपरान्हको वर्षापछि उपत्यकाको जनजीवनमा केही राहत महसुस गरिएको छ।

करिब एकसातादेखि काठमाडौं विश्वकै सबैभन्दा दूषित शहरमा गनिँदै आएको थियो।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा हल्का वर्षा भएको र उपत्यकामा पनि हल्का वर्षा भएको जनाएको छ।

महाशाखाले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थान साथै बाँकी पहाडी भूभागको एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको जानकारी दिएको छ। यो समय प्रिमनसुनको समय रहेकाले लामो समयसम्म वर्षा रहिरहन्छ भन्ने नहुने र ठूलो वर्षाको सम्भावना नभएकाले हाल देखिएको वायु प्रदूषण न्यूनीकरणमा भने राहत मिल्ने महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थान साथै बाँकी पहाडी भूभागको एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाको भनाई छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १७:२९
Weather Update