News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
भियतनाममा सबैभन्दा ठूलो बैंक ठगी प्रकरणमा अर्बपतिलाई मृत्युदण्ड 
BBC

काठमाडौं— भियतनामी अर्बपति ट्रोङ माइ लानलाई मृत्युदण्डको सजाय भएको छ। बिहीबार हो ची मिन शहरको पिपल्स कोर्टले घर जग्गा कारोबार गर्ने टाइकूनका रूपमा परिचित ६७ वर्षीया लानलाई मृत्युदण्डको सजाय सुनाएको बीबीसीले जनाएको छ।

उनी घरजग्गाको कारोबार गर्ने संस्था भान थिन्ह फाटकी अध्यक्ष समेत हुन्। उनीमाथि घुसखोरी, बैंकका नीति नियमको उल्लंघन र रकम हिनामिना गरेको आरोप छ। उनले ११ वर्षको अवधिमा भियतनामको ठूलो बैंक साइगोन कमर्सियल बैंकबाट २७ अर्ब घोटाला गरेको बीबीसीले जनाएको छ।

Prabhu Bank

लानले उक्त बैंकबाट ४४ अर्ब डलर ऋण लिएको तर २७ अर्ब फिर्ता गर्न कठिन हुने अभियोजनकर्ताहरूले बताएका छन्। देशमा अहिलेसम्मकै सबैभन्दा धेरै घोटाला भएको यस घटनामा ४२ हजार पीडित छन्। अभियोजनकर्ताहरूले लानसँग सम्बन्धित एक हजार सम्पत्ति जफत गरेको छ।

बीबीसीका अनुसार यसमा २७ सय जना मानिशहरूको बयान लिइएको थियो। १० जना अभियोजनकर्ता र करिब २०० जना वकिलहरू यस मुद्दामा संलग्न छन्। लानविरुद्ध बरामद भएका प्रमाण १०४ वटा बाकसमा थिए। जसको तौल ६ टन रहेको समाचारमा उल्लेख छ।  

भियतनामी कानुनअनुसार कुनै पनि व्यक्तिले बैंकको ५ प्रतिशत शेयर भन्दा बढी राख्न पाइँदैन। तर उनले सयौँ नक्कली कम्पनी र मानिशहरू खडा गरी बैंकको ९० प्रतिशत बढी शेयर आफ्नो नाममा गरेको अभियोजनकर्ताहरूले बताएका छन्।

उनले त्यही शक्तिको प्रयोग गरी आफ्नै मान्छेलाई व्यवस्थापक बनाएको र उनकै आदेशमा आफ्ना कम्पनीहरूका नाममा ऋण प्रवाह गरेको पाइएको हो। सन् २०१९ फेब्रुअरीदेखि आफ्ना सवारी चालकलाई १०८ ट्रिलियन भियतनामी डोङ (४ अर्ब अमेरिकी डलर) नगद निकाल्न लगाएको र आफ्नो बेसमेन्टमा लुकाएको अभियोजनकर्ताले आरोप लगाएका छन्।

छानबिन नगरियोस् भनेर उनले विभिन्न व्यक्तिहरूलाई घुस समेत दिएकी हुन्। उनले केन्द्रीय बैंकका चिफ इन्स्पेक्टरलाई ५० लाख अमेरिकी डलर दिएको आरोप छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १७:२१
Weather Update