
काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापा इलाम २ का गाउँ घुम्दैछन्। महामन्त्री थापा झापा हुँदै चुनावी अभियानको माहोल बनाउन इलाम पुगेका हुन्। आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनमा कांग्रेसका तर्फबाट चुनावी मैदानमा रहेका डम्बर खड्कालाई भोट माग्न थापा इलाम घुमिरहेका छन्।
गगनले बिहीबार इलाम क्षेत्र नम्बर २ अन्तर्गत सिकारी भञ्ज्याङमा आयोजित पार्टीको कोण सभालाई सम्बोधन गरे। त्यसक्रममा उनले अहिलेको परिस्थितिमा उचाल्ने भन्दा पनि सम्हालेर लानेको आवश्यकता भएको बताए । उत्तेजना र भड्काउको राजनीति गर्न नहुने उनको भनाइ छ।
महामन्त्री थापाले विगतमा पनि कांग्रेसले कठिन परिस्थितिलाई सम्हालेको स्मरण गराउँदै कोशी प्रदेशमा जटिल बन्दै गएको पहिचानको मुद्दालाई पनि सम्हालेर अगाडि लैजानुपर्ने बताए। ‘यो बेलामा उचाल्ने होइन सम्हाल्ने पार्टी चाहिएको छ। पहिचानको मुद्दालाई सम्हालेर लैजान सक्नुपर्छ,’, महामन्त्री थापाले भने।
०४८ मा कांग्रेसले दुई तिहाइ बहुमत पाएको प्रसङ्ग स्मरण गराउँदै उनले त्यसबेला पनि कांग्रेसले उत्तेजनाको कुरा नगरेको बताए। उनले वर्तमान संविधान बन्दै गर्दा पनि नेकपा एमालेले ‘माओवादीलाई ठेगान लगाऔं’ भन्दा कांग्रेसले नै माहोल सम्हालेको दाबी गरे। अब पछिल्लो समय जटिल बन्दै गएको पहिचानको मुद्दालाई पनि कांग्रेसले सही तरिकाले अगाडि बढाउने उनको भनाइ छ।
पार्टी सभापति शेरबहादुर देउवाले इलाम–२ को चुनावी कमान्डर अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई बनाए पनि केन्द्रीय नेताहरू इलामका गाउँ घुमिरहेका छन्। पूर्वी नेपालमा पहिचानको मुद्दा पेचिलो बन्दै गएपछि इलाम २ को उपनिर्वाचनमा शीर्ष दलहरू पहिचानवादीहरूसँग डराएको अवस्था छ।
२०७९ को आम निर्वाचनमा उक्त क्षेत्रबाट निर्वाचित एमाले उपाध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्वाङको निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।
कांग्रेसले इलाम–२ मा कांग्रेसका खड्का गत निर्वाचनमा स्वर्गीय सुवास नेम्वाङसँग झिनो मतले पराजित भएपछि देउवाले दोस्रो अवसर दिएका हुन्। नेम्वाङको र खड्काबीचको मतान्तर जम्मा १४४ मात्रै रहेको थियो।