News Griha :: न्यूजगृह
पूर्वमन्त्री दीपक बाँस्कोटा किन हराए सक्रिय राजनीतिबाट?

काठमाडौं— पूर्वमन्त्री दीपक बाँस्कोटाले नेपाली राजनीतिमा करिब ५२ वर्ष बिताए। नेपालको सहकारी आन्दोलनमा परिचित बाँस्कोटा २०५१ को संसदीय निर्वाचनमा पाँचथर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भई शेरबहादुर देउवाको पहिलो प्रधानमन्त्रीत्व कालमा गृह राज्यमन्त्रीका रूपमा काम गरे।

विगत केही वर्ष यता बाँस्कोटा सक्रिय राजनीतिमा छैनन्। उनलाई केही दिनअघि हामीले राजनीति विश्राम लिनुको कारण सोध्दा, ‘मैँले राजनीतिबाट सन्यास लिएको होइन, विश्राम लिएको हुँ’ भन्ने जवाफ फर्काए। ‘मैँले करिब ५२ वर्षअघि बीपी कोइरालालाई भेटेर राजनीतिमा आएको हुँ। सुरुमा कांग्रेसको सदस्यता लिएर राजनीतिमा सक्रिय हुँदा मेरो दाजुले पाँच दिन खाना खानु भएन। गाउँलेहरू चकित भए। यस्तो हुनुको पछाडि मलाई गोली हानेर मार्छन् भनेर हो। त्यसबेला मैँले जोखिम मोलेर प्रजातन्त्रका लागि राजनीति आउने निधो गरेको थिएँ,’ उनले राजनीति प्रवेश गर्दाको सुरुवातीको चरण सुनाए।

पाँच दशक क्रियाशील राजनीतिमा रहँदा असल काम भन्दा पनि नेताहरूको नियतमा खोट पाएको बताउँदै उनले भने, ‘मैँले अहिलेसम्म बीपी, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला जस्तो उचाइ भएको नेता नै भेटिन। बीपीदेखि शेरबहादुर देउवासम्मलाई झेलेको छु तर पछिल्लो समय राजनीतिमा विकृति भित्रियो। सक्रिय हुने अवस्थै रहेन।’ राजनीतिमा सक्रिय नभएपनि टाढा बसेर सुझाव दिइरहेको उनले बताए। ‘म राजनीतिमा सक्रिय हुने परिस्थितिमा छैन। तर टाढा बसेर सुझाव दिइरहेको छु। हालैको कांग्रेस महासमिति बैठकमा पनि २३ बुँदे सुझाव पठाएँ। सुझाव ग्रहण गर्ने/नगर्ने नेताहरूको काम हो,’ उनले।

बीपी कोइरालाले भनेको र लेखेको कुरा बुझेर राजनीतिमा आएको बताएका बाँस्कोटाले भने, ‘म राजीनामा दिएको थालमा चुठ्ने काम गर्दिन। युवा पुस्तालाई राजनीति बुझेर सही गतिमा हिँडाउन आग्रह गर्दछु,’ उनले भने। २०७८ भदौको कृष्णअष्टमीका दिनबाट राजनीतिबाट विश्राम लिएका बाँस्कोटाले राजनीतिमा चरम विकृति रहेको सुनाए। २०२६ देखि २०६४ सम्म अति क्रियाशील भएर कांग्रेसमा काम गरेका उनी ०६४ पछि विस्तार राजनीतिबाट टाढा हुन थालेका थिए।

‘पार्टी तथा संसदीय निर्वाचनमा भाग लिई चुनावी प्रक्रियाका क्रममा कुनै तहमा पनि सहभागी नहुने उनको प्रतिवद्धता छ। बीपी कोइरालाको लोकतान्त्रिक समाजवादको आदर्शलाई वैदिक समाजवादमा रूपान्तरण गर्दै वैदिक ज्ञान र प्रविधिको प्रयोगद्वारा नेपाललाई आध्यात्मिक वैदिक राष्ट्र निर्माण गर्ने महाअभियानमा लाग्ने उनले सुनाए।  वैदिक नेपाल निर्माणका लागि नेपाली विज्ञ, संघ संस्था र विश्वभर कार्यरत वैज्ञानिकसँगको सहकार्यलाई निरन्तरता दिने उनको योजना छ। नेपाल महर्षि वैदिक फाउण्डेसनमार्फत वैदिक नेपाल निर्माण अभियानमा विगत २५ वर्षदेखि उनी क्रियाशील छन्। 
नेपालको सहकारी अभियानका एक जुझारु अभियन्ताको अलग्गै पहिचान बनाएका उनी विश्वव्यापी १२ क्षेत्रमध्ये वैदिक शिक्षाको अभियानमा क्रियाशील छन्। 

-नेपाल न्यूज बैंक

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १४:३३
Weather Update