News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
चैतेदसैँमा कालिका मन्दिरमा धार्मिक पर्यटकको घुइँचो

बागलुङ— चैतेदसैँ सुरु भएसँगै कालिका मन्दिरमा भक्तजनको घुइँचो बढ्न थालेको छ। चैतेदसैँमा कालिका मन्दिर दर्शन गर्न आउने धार्मिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो।  

मङ्गलबारदेखि नवरात्र सुरु भएको छ। चैतेदसैँ समेत भनिने यस पर्वमा दुर्गा भवानीको पूजाउपासना गरिन्छ। चैतेदसैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने भएकाले टाढाटाढाबाट भक्तजनहरू आउने गर्दछन्।

Prabhu Bank

चैतको नवरात्रमा पनि बागलुङ कालिकाको पूजाआराधना र बलि दिइँदा आँटेको पुग्ने जनविश्वास रहेको छ। गण्डकी प्रदेशको मुख्य शक्तिपीठका रुपमा रहेको यहाँस्थित कालिका मन्दिरमा चैतेदसैँ सुरु भएपछि भक्तजनको घुइँचो लाग्न थालेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए।

‘आज चैतेदसैँको तेस्रो दिन हो। बिहानै एक हजार दुई सय जना मन्दिर परिसरमा भक्तजन हुनुहुन्थ्यो। चैतेदसैँमा यस मन्दिरको सबैभन्दा बढी धार्मिक पर्यटक आउने गर्दछन्, त्यसपछि बडादसैँमा बढी घुइँचो हुन्छ,’ खड्काले भने, ‘यहाँ यही चैत ३० गतेदेखि ऐतिहासिक चैतेदसैँ मेलासमेत आयोजना गरिएको छ। भक्तजनको चापलाई मध्यनजर गरेर सवारी पार्किङ, सुरक्षा लगायतको व्यवस्था मिलाइएको छ।’

उनका अनुसार मन्दिरलाई सजाइएको छ भने सत्तल, मठ र अन्य ससाना मन्दिरसमेत चिटिक्क पारिएको छ। मेला हेर्न र मन्दिरको दर्शन गर्न आउने गरी करिब पाँच लाख धार्मिक पर्यटक बागलुङ भित्र्याउने गुठीको लक्ष्य रहेको उनले जानकारी दिए।

चैतेदसैँका समयमा बागलुङ कालिका मन्दिरमा पूजाआजा गर्नका लागि नेपालसँगै छिमेकी मुलुक भारतबाटसमेत धार्मिक पर्यटक आउने गर्दछन्। मन्दिरमा चैतेदसैँ र बडादसैँमा विशेष पूजाआजा हुने भएकाले यही समयमा धेरै भक्तजनको घुइँचो लाग्ने गरेको छ। उक्त मन्दिरमा बोका, राँगो, कुखुरालगायतको बलि चढाइनुका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ।

चैतेदसैँका अवसरमा लाग्ने तीन सय वर्ष पुरानो मेला नजिकिएसँगै आयोजकले मेलाको तयारी अन्तिम चरणमा पुर्‍याएको छ। चैत ३० गतेदेखि आगामी वैशाख ६ गतेसम्म सञ्चालन हुने उक्त मेलामा नयाँ वर्षको कार्यक्रमलाई समेत समेटिएको छ। मन्दिर परिसरमा लाग्दै आएको मेलाको तयारीलाई अन्तिम चरणमा पुर्‍याइएको गुठी व्यवस्थापन समितिले जनाएको छ। 

‘गन्तव्य बागलुङ कालिकाः कला र संस्कृतिको प्रवर्द्धन–स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ यस वर्षको चैतेदसैँ मेला आयोजना गरिएको हो।
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १३:५१
Weather Update