
ओखलढुंगा— नेकपा एमाले ओखलढुङ्गाका पूर्व जिल्ला अध्यक्ष शंकर कटवालले पार्टी छोडेका छन्। जिल्ला अधिवेशनको क्रममा नेतृत्वको पक्षधरता र गुटबन्दी देखिएको भन्दै उनले एमाले छोडेको घोषणा गरेका हुन्।
‘दसौँ जिल्ला अधिवेशनमा जे जस्ता रवैया र गतिविधिहरू देखिए, जुन खालका आरोप–प्रत्यारोपको होडबाजी चल्यो। नेतृत्वको जुन खालको कार्यशैली र पक्षधरता देखियो। मैले मेरो ३४ वर्षको राजनैतिक जीवनमा यस्तो विधि र पद्धति विहीनता अनुभूति गरेको थिइनँ’, कटवालले नेतृत्वलाई बुझाएको राजीनामा पत्रमा भनेका छन्।
बुधबार सकिएको एमाले ओखलढुङ्गाको अधिवेशनले ज्ञानबहादुर खड्कालाई अध्यक्षमा चुनेको थियो।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गरेको अधिवेशनमा खड्काले निकटतम प्रतिस्पर्धी हर्कबोल राईलाई १३ मतले पराजित गरेका थिए। खड्कालाई प्रदेश कमिटी सदस्य तथा पूर्वमन्त्री अम्बिरबाबु गुरुङ लगायतको समर्थन थियो भने राईलाई केन्द्रीय सदस्य यज्ञराज सुनुवारको समर्थन थियो। कटवाल सुनुवार पक्षधर मानिन्छन् ।
उनले यस्तो अराजनीतिक कार्यशैलीले पार्टी र कार्यकर्ताको भविष्य नबन्ने भन्दै राजनैतिक न्याय समेत स्थापित गर्न नसकिने बताएका छन्। ‘यही कुरालाई महसुस गरी मैले ओखलढुङ्गा जिल्ला पार्टी इन्चार्ज क.खगेन्द्र राईमार्फत मिति २०८०/१२/२७ गते बेलुका पार्टी परित्याग गरेको राजीनामा पठाइसकेको छु । आजबाट म नेकपा एमालेको पार्टी सदस्य समेत नरहेको सबैमा जानकारी गराउन चाहन्छु,’ कटवालले भनेका छन्।