News Griha :: न्यूजगृह
मुसलमान बहुल स्थानमा ‘कल्चर सेन्टर’ स्थापनाको माग
नेपालगञ्जको बीपी चोकस्थित इदगाहमा ईद पर्वको अवसरमा बिहीबार सामूहिक नमाज पढ्दै मुस्लिम समुदाय । तस्बिरः रासस 

काठमाडौं— देशभरका इस्लाम धर्मावलम्बीले आज ईद–उल फित्र (ईद) मनाउँदै छन्। तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो।

बुधबार चन्द्रमा नदेखिएकाले बिहीबार ईद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए। मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । ‘जकात (दान) यही महिनामा दिइन्छ,’ उनी भन्छन्, ‘हामी यो महिनालाई पुण्य कमाउने महिना मान्छौँ।’

eid_3-1712808160.jpg
नेपालगञ्जको बीपी चोकमा सामूहिक नमाज पढ्दै मुस्लिम समुदाय। तस्बिरः रासस 

ईद–उल फित्रमा ‘सेवइ’ खाएर र सामूहिक रुपमा नमाज पढेर यो पर्व मनाइन्छ। राष्ट्रिय जनगणना–२०७८  अनुसार देशमा मुस्लिम समुदाय कूल जनसङ्ख्याको ५ दशमलव ९ प्रतिशत छ। यो तथ्याङ्क अपूर्ण भएको आरोप लगाउँदै अन्सारीले मुस्लिम समुदायको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक लगायत अवस्थाको अध्ययन अनुसन्धान गरेर वास्तविक विवरण सरकारसमक्ष पेस गर्ने आयोगको योजना रहेको बताए।

काठमाडौंमा मुस्लिम धर्मावलम्बीका लागि मस्जिद भए पनि अलि ठूलो समूहमा मिलेर नमाज पढ्ने, सांस्कृतिक गतिविधि गर्ने सभा हलको अभाव भएको उनी बताउँछन्। ‘संस्कृति बचाउन स्थान चाहिन्छ,’ उनी भन्छन्, ‘देशका मुसलमान बहुल स्थानमा ‘कल्चर सेन्टर’ स्थापनाका निम्ति हामीले सरकारसँग माग गरिरहेका छौँ ।’   

eid_2-1712808160.jpg
दाङको घोराही उपमहानगरपालिका-१८ मा सामूहिक नमाज पढ्दै मुस्लिम समुदाय। तस्बिर: रासस 

ईदका अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ। 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ०९:५०
Weather Update