News Griha :: न्यूजगृह
बिस्का: जात्रामा भैरवनाथको रथ भाँचियो

भक्तपुर— भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्का: जात्राको पहिलो दिन पाँचतले मन्दिरस्थित टौमढीबाट तान्न सुरु गरेको प्यागोडा शैलीको भैरवनाथको रथ भाँचिएको छ।

रथ तान्ने क्रममा मुख्य तीन खामा भाँचिएका गुठी कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिइन्। रथमा धेरै क्षति पुगेकाले मर्मत गर्ने कार्य जारी रहेको बताइन्।

यो पनि पढ्नुहोस: ८ रात ९ दिनसम्म मनाइने बिस्काः जात्रा आजदेखि सुरु

मङ्गलबार राति विगतका वर्षमा जस्तै तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाले ढुङ्गा हानाहान गर्ने त्रास रहे पनि यस वर्ष शान्तिपूर्ण रुपमा पहिलो दिनको जात्रा सम्पन्न भएको थियो। तर चलनअनुसार रथलाई बुधबार दिउँसो ३ बजेसम्म पनि गःहिटी पुर्याउन सकिएन।

रथलाई पूरै बनाउन अझै एक साता समय लाग्ने अनुमान छ। रथ जसरी पनि गःहिटी पुर्याएर पूजा गर्ने तथा यही चैत ३० गते ल्यासिंखेलमा लिङ्गो उठाउनु अगाडि पुर्याउनु पर्ने बाध्यता छ। त्यसैले रथ पूर्ण नभई आंशिकरुपमा सञ्चालनमा आउने गरी मर्मत गरिरहेको प्रमुख वलीले जानकारी दिइन्।

नियमानुसार चैत ३० गते भैरव र भद्रकालीको रथलाई गःहिटीबाट तानेर ल्यासिंखेल पुर्याएपछि मात्रै लिङ्गो उठाउने कार्य सुरु हुन्छ । आगामी वैशाख १ गते लिङ्गो ढालेपछि पुनः रथलाई ल्यासिंखेलबाट गःहिटी ल्याएर भैरव र भद्रकालीको रथ जुधाउने परम्परा छ।

जात्रा सञ्चालनका क्रममा जथाभावी तान्दा रथ बिग्रिएर क्षति पुगेको र रथ तान्ने डोरीसमेत चोरी भएको प्रमुख वलीले बताइन्। रासस

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ०६:३३
Weather Update