राष्ट्रिय सभाको उपाध्यक्षमा कांग्रेसका उम्मेदवार पुडासैनी पराजित

काठमाडौं— राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवार बनेकी कांग्रेसका विष्णुदेवी पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ।
बुधबार राष्ट्रिय सभामा भएको मतदानमा पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्तावको पक्षमा १६ मत परेको थियो भने विपक्षमा ३९ मत परेको थियो। यस प्रस्तावको मतदान प्रक्रियामा ५५ सांसदले भाग लिएका थिए।
उपाध्यक्षका लागि मंगलबार दुई जनाको उम्मेदवारी परेको थियो। नेकपा एमाले र नेपाली कांग्रेसका तर्फबाट छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका हुन् । एमालेका तर्फबाट विमला घिमिरेले उम्मेदवारी दर्ता गराएकी छिन्। अहिले घिमिरेको प्रस्तावको पक्षविपक्षमा मत विभाजन भइरहेको छ।
तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि निर्वाचन भएको हो।
हेर्नुहोस् लाइभ: राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन हुँदै [LIVE]
प्रकाशित मिति: बुधबार, चैत २८, २०८० १४:४२