News Griha :: न्यूजगृह
बागमती नगरपालिकाका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

काठमाडौं— सर्लाही बागमती नगरपालिकाका मेयर भरत कुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मेयर थापाले स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेको थियो। सोही निवेदन सम्बन्धमा अनुसन्धान हुँदा थापाले सार्वजनिक पदको दुरुपयोग गरी पाँच करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको पुष्टि भएको आयोगले जारी विज्ञप्तिमा उल्लेख छ।

‘निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर पुष्टि हुन आएकोले निजलाई बिगो पाँच करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद तथा जरिवानाको सजाय हुनका साथै निजले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत/असुल उपर हुन मागदाबी लिइएको छ,’ प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १३:२८
Weather Update