News Griha :: न्यूजगृह
काठमाडौंमा अझै केही दिन वायु प्रदूषण रहने

काठमाडौं— काठमाडौं विश्वकै सबै भन्दा बढी वायु प्रदूषण भएको शहर बनेको छ। वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौं विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको शहर रहेको छ। अहिले काठमाडौंको एयर क्वालिटी इन्डेक्स २४५ रहेको छ।

त्यसैगरी दोस्रो स्थानमा भारतको नयाँ दिल्ली रहेको छ। नयाँ दिल्लीको एयर क्वालिटी इन्डेक्स २१४ छ।

अहिले काठमाडौं र नयाँ दिल्लीको एयर क्वालिटीको अवस्था अति अस्वस्थको अवस्थामा रहेको छ। त्यस्तै पाकिस्तानको लाहोर, बङ्गलादेशको ढाका, इराकको बग्दाद, भारतको कोलकाता, थाइल्याण्डको चियांग माई, चीनको हांगझोउ, भियतनामको हानोई, सेनेगलको डाकर र म्यान्मारको यांगुन अस्वस्थ रहेको छ।

१५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपतकालीन अवस्था मानिएको छ।

अहिले काठमाडौंको वायु प्रदूषण बढ्नुमा जङ्गल लागेको डढेलो, धुलाम्मे सडक आदि कारण मानिएको छ।

मौसम विभागले काठमाडौंमा अझै केही दिन वायु प्रदूषणको यो अवस्था रहने र यो केही दिन पूर्णरुपमा हट्ने सम्भावना नरहेको बताएको छ। 


 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  ०९:५०
Weather Update