बसको ठक्करबाट दाङमा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं — दाङमा नाइट बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
तुलसीपुरबाट–कठमाडौं आउँदै गरेको ना ६ ख १४८६ नम्बरको रात्रि बसले लु ४१ प ८०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका– १७ का २३ वर्षीय सौगात वलीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी जनकबहादुर मल्लका अनुसार घोराही उपमहानगरपालिका– १७ सिस्नेखोलाको ओरालोमा मंगलबार राति पौने ९ बजे मोटरसाइकललाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट गम्भीर घाइते वलीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो।
मोटरसाइकलको पछाडि सवार तुलसीपुर उपमहानगरपालिका– ११ का ३५ वर्षीय शरद लामिछाने घाइते छन्। उनको घोराहीमा उपचार जारी छ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: बुधबार, चैत २८, २०८० ०७:४४













