
काठमाडौं— नेपाली कांग्रेसले (१० वैशाख) आइतबार हुने उपचुनावको मुखैमा पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र पूर्वकेन्द्रीय सदस्य दिनेश कोइरालाको कारबाही फुकुवा गरेको छ ।
पार्टी केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानले मंगलबार विज्ञप्ति जारी गदै २०७४ र २०७९ सालमा भएका चुनावमा बागी उठेका र उनीहरूको प्रस्तावक र समर्थक बसेर कारबाहीमा परेका चितवन, बारा र तनहुँ जिल्लाका सदस्यहरूको कारबाही फुकुवा गरेको बताएका हुन् ।
अनुशासन समितिका अनुसार जोशी र कोइरालासहित कारबाहीमा परेका कांग्रेस नेता तथा कार्यकर्ताको कारबाही फुकुवा भएको छ । उनीहरूलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।
‘२०७४ र २०७९ सालमा भएका स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध वागी उम्मेदवारी दिएका र त्यस्ता वागी उम्मेदवारका प्रस्तावक र समर्थक बसेका तथा पार्टी र पार्टीको उम्मेदवारको हित विपरीतका गतिविधिमा संलग्न भएका कारण, पार्टी विधान र नियमावली बमोजिम स्वतः कारबाहीमा परेका तथा पार्टीको जिल्ला, प्रदेश र केन्द्रीय अनुशासन समितिको निर्णयबाट अनुशासनको कारबाहीमा परेका तनहुँ, चीतवन र बारा जिल्लाका पार्टीका सम्पूर्ण सदस्यहरुको अनुशासनको कारबाही आजैका मितिदेखि लागु हुने गरी फुकुवा गरिएको छ,’ ढुंगानाले विज्ञप्तिमा लेखेका छन् ।














