
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०४७ देखि यताका सबै प्रकरणको उच्चस्तरीय छानबिन गर्न माग गरेको छ।
प्रतिनिधि सभा बैठक पछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै रास्वपाका उपसभापति एवं सांसद डा स्वर्णिम वाग्लेले २०४७ सालदेखि छानबिन गर्न रास्वपाले उच्चस्तरीय छानबिन समितिको माग गरेको बताए।
उनले एउटा व्यक्तिलाई खुइल्याउने हैन सबै प्रकरणको छानबिन हुनुपर्ने आफूहरूको माग रहेको उनले बताए।
वाग्लेले भने, ‘ललिता निवासदेखि अहिले वाइडबडी काण्डमा कोकोलाई जोगाइएको छ। यो सबैको छानबिन गर्नको लागि रास्वपाले उच्च स्तरीय स्वतन्त्र छानबिन समितिको आह्वान गर्दछ। एउटा व्यक्तिलाई खुइल्याउने, एउटा आरोपका भरमा पात्रलाई खुइल्याउने किसिमले होइन। ०४७ यताका उच्च पदस्थ पदमा बसेका व्यक्तिमाथि छानबिन गर्नुपर्छ।’
मंगलबारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता बारे संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरोध गरेपछि बैठक स्थगित भएको छ। अब संसद्को अर्को बैठक बुधवार बिहान ११ बजे बस्ने तालिका छन् ।