
काठमाडौं— प्रहरीसँगको मुठभेटमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता बुद्धिमान तामाङ घाइते भएका छन्। उनीमाथि प्रहरीले आक्रमण गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले बताए ।
उनले आफूहरूले शान्तिपूर्ण प्रदर्शन गर्न खोज्दा पनि प्रहरीले दमन गरेको बताए।
अब आफूहरूको आन्दोलन गृहमन्त्री रवि लामिछानेको राजीनामा केन्द्रित हुने लिङदेनले बताए।
भृकुटीमण्डपबाट शुरु भएको राप्रपाको जुलुस भद्रकाली हुँदै सिंहदबारतर्फ आउन खोजेपछि प्रहरीले अवरोध गरेको थियो।
निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले प्रर्दशनकारीमाथि पानीको फोहोरा प्रयोग गरेको थियो। तर प्रर्दशनकारी नरोकिएपछि प्रहरीले लाठीचार्ज गरेको हो। यहीक्रममा तामाङसहित प्रर्दशनकारी घाइते भएका हुन्।
त्यस्तै प्रदर्शनका क्रममा मंगलबार निषेधित क्षेत्र तोड्न खोजेपछि राप्रपा प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाही भद्रकालीबाट पक्राउ छन्। तर पक्राउ परेको केहीबेरमा उनलाई छोडिएको छ।
राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले मंगलबार काठमाडौंकेन्द्रित जनप्रदर्शनको आयोजना गरेको हो।