
काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ ।
भृकुटीमण्डपबाट शुरु भएको राप्रपाको जुलुस भद्रकाली हुँदै सिंहदबारतर्फ आउन लागेपछि प्रहरीले अवरोध गरेको हो । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा प्रयोग गरेर प्रदर्शनकारीलाई रोकेको छ ।
प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौं उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
यसअघि राप्रपाले निषेधाज्ञा तोड्ने गरी काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरेको थियो। सोही घोषणालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।
राप्रपाले प्रदर्शनका लागि विभिन्न जिल्लाबाट समेत मानिसहरूलाई काठमाडौंमा ओसारेको छ। करिब १० हजार जना प्रदर्शनमा सहभागी हुन सक्ने सुरक्षा निकायको आकलन छ।
यद्यपि, राप्रपाले एक लाख जनालाई प्रदर्शनमा उतार्ने भनेको छ।
प्रदर्शनमा अप्रिय घटना हुन नदिन पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा सादा पोशाकका विशेष प्रहरीको टोली परिचालन गरिएको छ।