News Griha :: न्यूजगृह
प्रतिनिधि सभाको अवरोध हटाउन बालुवाटारमा सत्ता-प्रतिपक्षबीच छलफल

काठमाडौं— प्रतिनिधि सभाको अवरोध खुलाउन सभामुख देवराज घिमिरेसहित प्रमुख दलका छलफलमा जुटेका छन्।

सदनको अवरोध हटाउन सभामुख घिमिरेले पहल गर्दै आएका छन्। बालुवाटारमा मंगलबार सभामुख घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापा र राष्ट्रिय सभामा कांग्रेस संसदीय दल नेता कृष्णप्रसाद सिटौलासँग छलफल गरेका हुन्।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी प्रकरणको निष्पक्ष छानबिन गर्न संसदीय समिति गठन गरिनुपर्ने अडान राखेको छ। सभामुख घिमिरेले सोमबार सिंहदरबारस्थित कार्यकक्षमा सत्ता–प्रतिपक्षीका नेताहरूसँग छलफल गरे पनि सहमति भएको थिएन।

सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले बालुवाटारमा मंगलबार पुनः छलफल गरिएको बताए। सभामुख घिमिरे आफ्नी दिदीको निधनका कारण झापा जाने कार्यक्रम स्थगित गरेर सदन अवरोध खुलाउन पहल गरिरहेको अधिकारीले जानकारी दिए।

कांग्रेसले संसदीय छानबिन समिति गठन नगरे प्रतिनिधि सभा अवरोध सरकारकै कारण भएको मानिने अभिव्यक्तिसमेत दिएको थियो। मंगलबार सभामुख घिमिरेले राखेको छलफलमा कांग्रेस, एमाले, माओवादी र रास्वपाका शीर्ष नेता तथा प्रमुख सचेतकहरू सहभागी थिए।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ११:११
Weather Update