
काठमाडौं — नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ। मंगलबार बिहान बसेको संसदीय दल कार्यसमितिको बैठकले पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो।
पुडासैनी बागमती प्रदेशबाट महिलातर्फ राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी हुन्। राष्ट्रिय सभा उपाध्यक्षका लागि मंगलबार उम्मेदवारको मनोनयन दर्ता गर्ने समय तोकिएको छ। चैत २८ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन हुँदैछ।
नेकपा एमालेले राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचनका लागि कपिलवस्तुकी विमला घिमिरेलाई राष्ट्रिय सभा उपाध्यक्ष उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।
राष्ट्रिय सभामा माओवादी केन्द्र ठूलो दलका रूपमा रहेको छ। अध्यक्षसहित माओवादीका १८ सांसद छन्।
नेपाली कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८ सांसद छन्। जनता समाजवादी पार्टीका तीन, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा एक/एक सांसद छन्।