News Griha :: न्यूजगृह
राप्रपाको प्रदर्शनलाई मध्यनजर गर्दै उपत्यकामा विशेष सुरक्षा व्यवस्था, तीन घेरामा सुरक्षाकर्मी परिचालन
फाइल तस्बिर।

काठमाडौं  —  राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार काठमाडौंमा जनप्रदर्शन गर्दैछ। गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएको राप्रपाले आफ्नो माग पूरा दबाब सिर्जना गर्न काठमाडौंमा बृहत् जनप्रदर्शन गर्न लागेको हो।

आजको जनप्रदर्शनमा काठमाडौंका विभिन्न स्थानबाट जुलुस निस्कने, ललितपुर, भक्तपुर र आसपासका जिल्लाबाट र्‍याली सहितको सहभागिता रहने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन्। 

प्रदर्शनका सहभागीहरू भृकुटीमण्डपमा भेला हुने, शहरका विभिन्न ठाउँको परिक्रमा गर्ने र सभा गर्ने राप्रपाले जनाएको छ। सभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र नेताहरूले सम्बोधन गर्नेछन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निषेधाज्ञा तोड्ने गरी काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरेको छ। सोही घोषणालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रदर्शनलाई लक्षित गरी काठमाडौंमा करिब ६ हजार प्रहरी परिचालन गर्ने तयारी छ।

राप्रपाले प्रदर्शनका लागि विभिन्न जिल्लाबाट समेत मानिसहरूलाई काठमाडौंमा ओसारेको छ। करिब १० हजार जना प्रदर्शनमा सहभागी हुन सक्ने सुरक्षा निकायको आकलन छ।

यद्यपि, राप्रपाले एक लाख जनालाई प्रदर्शनमा उतार्ने भनेको छ। नेपाल प्रहरीका एक अधिकृतले भने, ‘हामीसँग काठमाडौंको प्रहरी फोर्स ६ हजार जनाको छ, तीमध्ये तत्काल केही प्रहरीहरू फिल्डमा हुन्छन्। आवश्यक परे थप फोर्स पनि फिल्डमा खटाउने भनेर तयारी अवस्थामा राखिएको छ।’ 

प्रदर्शनमा अप्रिय घटना हुन नदिन पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा सादा पोशाकका विशेष प्रहरीको टोली परिचालन गर्ने गरी तयारी गरिएको छ।  

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०८:५४
Weather Update