
सुनसरी— सुनसरी सदरमुकाम इनरुवा–९ बवियाबाट गोली प्रहार गरी पाँच लाखभन्दा बढी रकम लुटपाट गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ।
पक्राउ पर्नेमा सप्तरी हनुमान कङ्कालिनी–३ का २९ वर्षीय इब्रान मन्सुरी मियाँ र भोक्राहा नरसिंह–४ का ३६ वर्षीय उमेश मुखिया रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका दुवै जनालाई आज पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको हो।
पक्राउ परेकाको साथबाट प्रहरीले लुटपाटमा प्रयोग भएको एउटा मोटरसाइकल र एक लाख दुई हजार रुपैयाँसमेत बरामद गरेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए। गत बुधबार दिउँसो इनरुवा–९ स्थित नहरको डिलमा सुनसरी हरिनगर–२ का ६१ वर्षीय साहिरा मियाँ र उनका नाती आसिफ अन्सारीमाथि गोली प्रहार गरी पाँच लाख ३५ हजार रुपैयाँ लुटपाट गरेका थिए।
जग्गा बिक्री गरेर पाँच लाख ३५ हजार लिएर घर फर्किरहेका बेला साथबाट लुटिएको एक लाख दुई हजार मात्र बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए। लुटपाटमा संलग्न अन्य एक जनाको पहिचान भइसकेको र बाँकी रकम चाँडै बरामद गरिने भण्डारीले जानकारी दिए।
पक्राउ परेकालाई अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न एक जनाको खोजी कार्य भइरहेको र चाँडै कानुनी दायरामा ल्याउने प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए।













