News Griha :: न्यूजगृह
कोशीमा वैकल्पिक सरकार गठनका लागि एमाले-माओवादीको ‘राजनीतिक दाबी’ पेस

काठमाडौं— केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रले वैकल्पिक सरकारका लागि दाबी पेस गरेका छन्।

सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की अल्पमतमा परेको भन्दै एमाले र माओवादी केन्द्रले हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार बनाउनका लागि राजनीतिक दाबी पेस गरेका हुन्। 

संविधानको  धारा १६८ को ५ अनुसार गठन भएको सरकार अल्पमतमा परेकाले अर्को सरकार गठनको सहजताका लागि प्रदेश प्रमुख समक्ष राजनीतिक दाबी पेस गरिएको नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए।

मुख्यमन्त्रीमा दाबी पेस भने प्रदेश प्रमुखले आह्वान गरेपछि मात्रै गर्न मिल्छ। सरकारलाई दिएको समर्थन फिर्ता लिएका दलले विशेष अधिवेशन पनि माग गरेका छन्। अधिवेशनमा मुख्यमन्त्रीलाई राजीनामा गर्न बाध्य बनाउने रणनीति बनाएको गठबन्धनले राजीनामा नदिए ३० दिन पर्खने र त्यसपछि नयाँ सरकार गठनको प्रारम्भ हुने बताउँदै आएको छ।

‘प्रदेश सभाका बहुमत सदस्यले दिएको विश्वासको मतको समर्थन पनि माननीय सभामुखज्यू समक्ष निवेदन दिई फिर्ता भएको विद्यमान परिस्थितिमा मुख्यमन्त्रीज्यू प्रदेश सभामा स्वतः बहुमतको विश्वास गुमाइ अल्पमतमा परिसक्नु भएको तथ्य स्पष्ट भइसकेको छ,’ गठबन्धनले गरेको दाबीमा  भनिएको छ,‘ ‘नेपालको संविधान बमोजिम माननीय मुख्यमन्त्री केदार कार्कीज्यूले बहुमत सदस्यको विश्वास गुमाइ सकेकोले कोशी प्रदेश सभाका हामी बहुमत सदस्यहरू नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश सभा संसदीय दलका नेता माननीय हिक्मतकुमार कार्कीलाई अर्को वैकल्पिक सरकारको नेतृत्व गर्न कोशी प्रदेश सरकार मुख्यमन्त्री पदमा नियुक्तिका लागि आवश्यक प्रकृया अगाडि बढाउन माननीय प्रदेश प्रमुखज्यू समक्ष दाबी प्रस्तुतीका साथ अनुरोध गर्दछौँ।’

दाबी अनुसार भए अबको एक महिनाभित्र कार्की तेस्रो पटक मुख्यमन्त्री बन्ने छन्। असोज २७ मा  कोशी प्रदेश सरकारको मुख्यमन्त्री पदमा नेकपा एमालेका  ३९ जना सदस्य र नेपाली कांग्रेस संसदीय दलका ८ जना सदस्यसहित ४७ सांसदको समर्थनमा केदार कार्की नियुक्त भएका थिए। 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १८:०८
Weather Update