काठमाडौं— उत्तर कोरियाले यस वर्ष धेरै जासुसी उपग्रह प्रक्षेपण गर्ने आफ्नो योजनाको पुष्टि गरेको केही दिनपछि दक्षिण कोरियाले आफ्नो दोस्रो सैन्य जासूस उपग्रह प्रक्षेपण गरेको छ।
उत्तर कोरियाले गत वर्ष नोभेम्बरमा र दक्षिण कोरियाले गत वर्षको डिसेम्बरमा आफ्नो पहिलो जासुसी उपग्रह प्रक्षेपण गरेको थियो।
उत्तर कोरिया र दक्षिण कोरियाबीच बढ्दो तनावकाबीच दुवै देशले आफ्ना भूउपग्रहले एकअर्कामाथि नजर राख्ने र मिसाइल आक्रमण गर्ने क्षमता बढाउने बताएका छन्।
दक्षिण कोरियाको दोस्रो जासुसी उपग्रह फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट आइतबार स्थानीय समय अनुसार राति ७:१६ बजेको समयमा प्रक्षेपण गरिएको हो।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले एक विज्ञप्तिमा उक्त स्याटलाइटलाई रकेटबाट सफलतापूर्वक प्रक्षेपण गरेको जनाएको छ।
‘स्पेसएक्स’सँगको सम्झौताअनुसार दक्षिण कोरियाले सन् २०२५ सम्ममा ५ वटा जासुसी भूउपग्रह प्रक्षेपण गर्ने भएको छ। दक्षिण कोरियाको पहिलो जासुसी उपग्रह गत वर्ष प्रक्षेपण गरिएको थियो। एजेन्सी