News Griha :: न्यूजगृह
संसद्‌को गतिरोध अन्त्य गर्न प्रमुख ४ दलका शीर्ष नेतासँग सभामुख घिमिरेको छलफल, ओली अनुपस्थित 

काठमाडौं — प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र प्रमुख चार दलका शीर्ष नेताहरूबीचको बैठक सुरु भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बैठक बसेको उनको सचिवालयले जानकारी गराएको छ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्ने चेतावनी दिएका विषयमा सभामुखले चार दलका शीर्ष नेताहरूसित छलफल थालेका हुन्।

छलफलमा सभामुखसहित प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलगायत नेता सहभागी छन्। सभामुखले छलफलका निम्ति बोलाए पनि एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा अनुपस्थित छन्।

सहकारीको रकम ठगी प्रकरणमा गृहमन्त्री लामिछाने मुछिएको भन्दै कांग्रेसले संसदीय छानबिन समितिको माग गरेको छ। छानबिन समिति नबनाइए भोलिदेखि संसद् बैठक अवरुद्ध गर्ने कांग्रेसले चेतावनी दिएको छ। 

 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १५:११
Weather Update