
काठमाडौं— नेपाल बालविकास शिक्षक केन्द्रीय समितिले मन्त्री, सांसद तथा नेताहरूलाई आफ्ना विभिन्न मागबारे ध्यानाकर्षण गराएकाे छ । अध्यक्ष कृष्ण कुमारी थापा मगर नेतृत्वको कार्यसमितिले मागबारे ध्यानाकर्षण गराएकाे हाे ।
नयाँ आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणलाई ध्यानमा राखी माग समेट्न नेताहरूलाई ज्ञापनपत्र बुझाइएको छ ।
कार्यसमितिले एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री डा.प्रकाशशरण महत, सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्मा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री महिन्द्र राय यादव र सांसद गगन थापा, सांसद ज्ञानेन्द्र शाहीलाई ज्ञापनपत्र बुझाएको हो ।
धादिङकी बालविकास शिक्षक माया न्यौपानेले बालशिक्षकको रूपमा सेवा गर्दै आएको १७/१८ वर्ष भए पनि राज्यले उचित तलब, सेवासुविधा नदिएकाे बताइन् । उनले स्थायी नियुक्ति प्रक्रिया, प्रावि तह सरह तलब, सेवासुविधा र सरूवाकाे व्यवस्था हुनुपर्ने बताइन् । उनले सोही माग लिएर विभिन्न मन्त्री, सांसद र नेताको ध्यानाकर्षण गराएको बताइन् ।
उनले बालशिक्षकको कोटा रिक्त हुँदा पनि सरुवा हुन नपाएको गुनासो गरिन् । उनले भनिन्,‘योग्यता भएर पनि बालशिक्षकले आफ्नै विद्यालयमा खाली हुँदा पनि पाएनौं । कति साथीहरूलाई बालकोटा नै खाली हुँदा सरुवा भएर आफ्नो पायक पर्ने ठाउँमा आउन खोज्दा सरुवाको कुनै नियम छैन । हामी बालशिक्षकलाई सरकारले किन बेवास्ता गरेको छ ?’
उनले सरकारले आफूहरूका माग पूरा नगरे दिउँसै बत्ती बालेर सडकमा उत्रने बताइन् । भन्छिन्, ‘कि बालकोटा खारेज गर सरकार । होइन भने जिउने आधारको ग्यारेन्टी ३६ हजार ८ सय बालशिक्षकलाई गराऊ । हाम्रो माग र मुद्दाहरूको सुनुवाइ होस् । होइन भने अब सडकमा दिउँसै बत्ती बालेर हिँड्न बाध्य हुन्छौं ।’
बालविकास शिक्षकहरूले प्रावि तह सरह सेवासुविधा, एकद्वार प्रणालीबाट तलब, महंगीभत्ता, दरबन्दी, गोल्डेनह्याण्डसेकलगायतको मुद्दा उठाउँदै आएका छन् ।













