
काठमाडौं — जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान सवार गाडी दुर्घटनामा परेको छ। पूर्वमन्त्रीसमेत रहेका खान र निजी सचिवालयका सदस्यहरू चढेको गाडी सोमबार धादिङको कृष्णभीरमा दुर्घटनामा परेको हो।
काठमाडौंबाट बर्दिया जाने क्रममा खान सवार गाडी दुर्घटनामा परेको हो। खानका स्वकीय सचिव अतिउल्लाह मुसलमानका अनुसार अर्को जीपलाई जोगाउने क्रममा भित्तामा ठोक्किन पुगेको हो। दुर्घटनामा खानसहित चालक, स्वकीय सचिव र कम्प्युटर अपरेटर घाइते छन्।
स्वकीय सचिव मुसलमानका अनुसार सांसद खानको देब्रे हात फ्याक्चर भएको छ। त्यस्तै उनको दाहिने हातको औँलामा पनि चोट लागेको छ। आफ्नो भने खुट्टा र कम्मरमा चोट लागेको स्वकीय सचिव मुसलमानले बताए। त्यस्तै चालकको छातीमा र कम्प्युटर अपरेटर अनवर खानको टाउकोमा चोट लागेको छ।
अहिले आफूहरू दुर्घटनास्थलबाट एम्बुलेन्समार्फत काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा आउँदै गरेको उनले बताए ।













