सर्लाहीमा आगलागी, ११ घर जलेर नष्ट

काठमाडौं — सर्लाहीको बसबरियामा आगलागी हुँदा ११ घर जलेर नष्ट भएका छन्।
सोमबार बिहान ११ बजे बसबरिया गाउँपालिका–३ भवानिपुरको बङ्गलवास्थित दलित बस्तीमा आगलागी भएको हो। आगलागीबाट ११ परिवारको फुसको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।
‘आगलागीबाट भएको क्षतिको विवरण सङ्कलनको काम हुँदैछ,’ उनले भने, ‘झण्डै दुई घण्टा लगाएर आगो नियन्त्रणमा लिएका छौँ।’
आगलागीबाट ६ घर पूर्ण र ५ घर आंशिक जलेको उनले बताए। आगलागीबाट लाखौँको क्षति भएको अनुमान छ।
आगो नियन्त्रणमा लिन जनपद र सशस्त्र प्रहरी, स्थानीयवासी तथा हरिवन र मलङ्गवा नगरपालिकाका दुईवटा वारुण यन्त्र परिचालन गरिएको थियो।
प्रकाशित मिति: सोमबार, चैत २६, २०८० १४:०१













