
काठमाडौं — सभामुख देवराज घिमिरे र शीर्ष नेताहरूबीचको छलफलको समय सरेको छ।
बिहान साढे १० बजे सिंहदरबारमा बोलाइएको बैठक दिउँसो २ बजेका लागि सारिएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभामा निरन्तर उठाइरहेको प्रश्नका सम्बन्धमा छलफल गर्न सभामुख घिमिरेले शीर्ष नेताहरूलाई छलफलमा बोलाएका हुन्।
छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दलको नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाइएको छ।
गत फागुन २४ गतेदेखि कांग्रेसले उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि संसद्मा प्रश्न उठाउँदै आएको छ। लामिछाने सहकारीको रकम हिनामिनाको आरोपित रहेकाले संसदीय छानबिन समिति बनाउनुपर्ने कांग्रेसको माग छ।
सोमबार बिहान बसेको कांग्रेस शीर्ष नेताहरूको बैठकले पनि छानबिन समितिको मागमा अडिग रहने निर्णय लिएको छ। यसमा सत्तारुढ दलहरू तयार भएका छैनन्।
यसअघि चैत २१ गते बसेको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश शर्माले अर्को बैठकमा संसदीय छानबिन समिति लिएर आउन सरकारलाई आग्रह गरेका थिए।
प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ। त्यसअगाडि सभामुखले शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन्।