News Griha :: न्यूजगृह
फैलिँदै कोरोना संक्रमण, यस्तो छ सरकारको तयारी

काठमाडौं— पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक हेर्दा संक्रमण उकालो चढ्दै गएको देखिन्छ ।

गत चैत महिनाको तथ्यांकलाई केलाउँदा मात्र पनि संक्रमण दर बढिरहेको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ ले पछिल्लो समय नेपालमा संक्रमण फैलाइरहेको विज्ञहरू बताउँछन् । जसका कारण अहिले दैनिक डेढ सय देखि दुई सयको हाराहारीमा संक्रमण पुष्टि भइरहेको छ ।

छिमेकी मुलुक भारतमा देखिएको कोरोना भाइरसको उक्त नयाँ भेरियन्ट नेपालमा पनि फैलिएको छ । खुला सिमानाका कारण नेपाल–भारत आवतजावत भइरहने हुँदा ती व्यक्तिहरूबाट संक्रमण फैलिएको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

गत चैत महिनामा मात्रै नेपालमा एकहजार ४५६ जनामा कोरोना संक्रमित फेला परेका थिए । वैशाखको सुरुवाती पाँच दिनमा मात्रै ५७४ जनामा संक्रमण पुष्टि भएको छ । यसरी हेर्दा नेपालमा कोभिडको संक्रमण दर दिन प्रतिदिन बढिरहेको छ ।

कोरोना संक्रमणबाट चैत र वैशाखमा मात्रै पाँचजनाको मृत्यु भएको छ । मंगलबार पनि कोभिड संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।

मन्त्रालयले संक्रमण बढ्दै गएका कारण अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । हाल वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजामती कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पताल लगायतका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । भारतीय सीमा नाकाहरूमा समेत विशेष सतर्कता अपनाइएको बताएको छ ।

स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले संक्रमण बढ्दै गइरहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरे । कोभिड संक्रमण फैलन नदिन सबैले जनस्वास्थ्य मापदण्ड पालना गर्न र मास्क अनिवार्य लगाउन उनले सुझाए । 'कोभिड बढ्दै गइरहेको छ । यसमा हामी सबै सतर्क रहन आवश्यक छ । पहिलेकै जस्तो अवस्था सिर्जना हुन नदिन हामी सबैले जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ', डा. देवकोटाले भने, 'अहिले पनि हामीले कतै जाँदा मास्क लगाउन बिर्सिसकेका छौँ । त्यो कुरा पालना गर्नुपर्‍यो ।'

कोभिड संक्रमण फैलन नदिन र लागिहालेमा पनि संक्रमणबाट बच्न कोभिड विरुद्धको तेस्रो बुस्टर डोज अनिवार्य लगाउनुपर्ने उनले बताए । उनले खोपको कमी नभएकाले खोप नलगाएहरूलाई तत्काल स्वास्थ्य संस्थामा गएर खोप लगाउन समेत आग्रह गरे । उनले भने, 'कोभिडविरुद्धको खोपको तेस्रो डोज नलगाएको पनि हुनुहुन्छ । चौथो डोज नलगाउने त धेरै नै हुनुहुन्छ । खोपको थप मात्रा तुरुन्तै लगाउनुपर्‍यो । हामीसँग भ्याक्सिन उपलब्ध छ । हामीले जति लगाउँछौँ त्यही अनुपातमा भ्याक्सिन आउँछ । पहिले अभियानको रूपमा लगाउथ्यौँ । अहिले हामीले जति खोप लगाउँछौ त्यति आउँछ । त्यसकारण खोप तुरुन्त लगाउनुपर्‍यो ।'

स्वास्थ्य मापदण्ड पालना गर्ने र खोपको बुस्टर डोज तत्काल लगाउनुपर्ने डा. देवकोटाले बताए ।

कोभिडबाट संक्रमित भएकाहरूको उपचार कार्य अस्पतालहरूमा भइरहेको भन्दै डा. देवकोटाले अहिले संक्रमण बढ्दै गइरहेकाले हिजोको जस्तो अवस्था नभए पनि स्वास्थ्य संस्थाहरूमा पुग्ने बिरामीहरूको संख्या बढ्न सक्ने बताए । '२०/२२ जना आईसीयूमा भर्ना भएका र ४/५ जना भेन्टिलेटरमा राखेर उपचार गरिराख्नुपर्ने अवस्था अहिले पनि छ । यो संख्या नबढ्ला भन्न सकिँदैन', डा. देवकोटाले भने, 'त्यस कारणले संक्रमितहरूको संख्या धेरै भएमा भेन्टिलेटरको प्रयोग र आईसीयूको प्रयोग गर्नुपर्ने संख्या अनुपातिक हिसाबले बढ्दै जान्छ । त्यसकारण यसलाई कम ठान्नु हुँदैन ।'

प्रायः सबैले भ्याक्सिन लगाइसकेकाले त्यसको प्रभावका कारण अहिले संक्रमण भए पनि धेरैलाई सामान्य देखिएको भन्दै उनले स्वास्थ्य मापदण्ड पालना गर्न छाडेमा संक्रमितलाई गाह्रो हुनसक्ने संकेत गरे । 'संक्रमित भए पनि सबैलाई धेरै अप्ठ्यारो नबनाएको भन्ने कुरा छ । त्यो हामीले लगाएको भ्याक्सिनको प्रभाव र अहिलेसम्म हामीले गरेको क्रियाकलापहरूको नतिजा हो', उनले भने, 'तर, हामीले स्वास्थ्य मापदण्ड पालना गर्न छाड्यौँ । खोप लगाउन छाड्यौँ भने फेरि बढी हुन्छ । मुख्य कुरा भनेको थप भ्याक्सिन लाउने र समूहमा बस्दाखेरि मास्क लगाउने कार्य अनिवार्य रूपमा गर्नुपर्‍यो ।'

उनले भारतबाट आउने पहिलेभन्दा दिनप्रतिदिन बढिरहेको भन्दै सीमा नाकाहरूमा त्यहाँका सम्बन्धित प्रदेश, स्थानीय तहले निगरानी गरिरहेको बताए ।

मन्त्रालयको तर्फबाट नाका क्षेत्रहरूमा कर्मचारीहरू भए नभएको, साधन स्रोत, चेकजाँच भए, नभएको निरीक्षण गरिरहेको समेत उनले बताए । डा. देवकोटाले भने, 'हामीले उहाँहरूलाई अनुरोध गरिरहेका छौँ । तर, त्यहीको स्थानीय र प्रदेशहरूको बढी भूमिका रहन्छ । उहाँहरूले हेरिरहनुभएको छ । त्यहाँबाट आएका व्यक्तिहरू गम्भीर भएमा त्यहाँका अस्पतालहरूमा राख्ने र मास्कहरू लगाउने गर्नुपर्दछ । नाकामा पनि व्यवस्थापन बढाएका छौँ ।'

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत गरेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले कोभिड संक्रमण बढ्दो क्रममा रहेकाले संकट व्यवस्थानका निम्ति तयारी अवस्थामा रहेको जानकारी दिएको छ ।

अहिले विगतको जस्तो नभए पनि पछिल्ला दिन कोभिड संक्रमणका कारण केही संक्रमितको मृत्यु भएकाले सीसीएमसी चौबिसै घण्टा अपडेटमा रहेको जनाएको छ ।

नेपाली सेनाले देशभर सात वटा होल्डिङ सेन्टर निर्माण गरेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार सेनाले निर्माण गरेको होल्डिङ सेन्टरहरू सरकारलाई हस्तान्तरण गर्न भने बाँकी छ ।

प्रवक्ता भण्डारीका अनुसार सेनाले कञ्चनपुरको गड्डाचौकीमा, कैलालीको गौरीफन्टा, झापाको काँकरभिट्टा, मोरङको रानी, कपिलवस्तुनको कृष्णनगर, पर्साको विरगञ्ज, बाँकेको नेपालगञ्जमा होल्डिङ सेन्टर निर्माण गरेको छ ।

सेनाले कोभिड लगायतका विपद्को समयमा प्रयोग गर्नका निम्ति बहुउपयोगी हुनेगरी ती होल्डिङ सेन्टरहरू निर्माण गरेको हो ।

दीर्घ रोगी, कमजोर शारीरिक अवस्थालाई समस्या

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुन अहिले देखिएको ओमिक्रोनको नयाँ भेरियन्ट एक्सबीबी.१.१६ अलि संक्रामक देखिएको बताउँछन् ।

कोभिडको संक्रमण फैलनलाई हाम्रा दैनन्दिन गतिविधिले पनि भूमिका खेलेको उनको भनाइ छ । 'नयाँ भाइरसको उदय भएको छ । अहिले संक्रमण फैलनुमा नयाँ भाइरस एक्सबीबी १.१६ मुख्य कारक मानिएको छ । यसले संक्रमण फैलाइरहेको छ,' डा. पुनले भने, 'त्यो संक्रामक हुनका लागि हामीले नै वातावरण सिर्जना गरिरहेका छौँ । हामीले अहिले भिडभाडमा जाने, जमघट गर्ने कार्यलाई निरन्तरता दिइरहेका छौँ ।' 

कोभिडविरुद्धको बुस्टर डोज खोप लगाएका कारण अहिले संक्रमित हुनेहरूको संख्या न्यून रहेको उनको भनाइ छ । भारतमा अहिले कोभिड संक्रमण धेरै नै फैलिइरहेको भन्दै उनले त्यही अनुपातमा अस्पताल भर्ना भएका वा मृत्यु भएको भन्ने संख्या भने अपवाद मात्र रहेको बताए ।

पहिलो वा दोस्रो चरण जस्तो भयावह अवस्था अहिले नदेखिएको डा. पुनको भनाइ छ । तर, कमजोर स्वास्थ्य अवस्था भएका, दीर्घ रोगी, रोक प्रतिरोधी क्षमता कम भएका विशेषगरी ज्येष्ठ नागरिकलाई संक्रमणले बढी अप्ठ्यारो पारेको उनले बताए । उनले भने, 'शारीरिक रूपमा कमजोर, धेरै औषधीहरू खाएर कमजोर भएकाहरू, ज्येष्ठ नागरिक, दीर्घ रोगी, रोग प्रतिरोधी क्षमता कमजोर भएकाहरूलाई जोखिम अलिबढी हुन सक्छ । तसर्थ सतर्कता अपनाउन भनिरहेका छौँ,' उनले भने, 'नयाँ भेरियन्टमा एक्सबीबीको १.१६ अलि बढी संक्रामक देखिएको छ । नेपालमा अहिले ओमिक्रोनको ९ वटा सब-भेरियन्ट देखिएको छ । ३/४ महिना अगाडि १७ वटासम्म देखिएको थियो ।स्वास्थ्य सतर्कतामा ध्यान नदिएको, बेवास्ता गरेको, खोप पुरा नगरेकाहरूमा पनि संक्रमण देखिएको छ ।' 

शरीर दुख्ने, कमजोर हुने अवस्था देखिएको तर, सहेर बसेको हुन सक्ने डा.पुनको भनाइ छ । अहिले संक्रमण फैलिँदै गएकोले यसलाई बेवास्ता गरेमा अझ लम्बिन सक्ने भन्दै उनले सतर्कता अपनाएमा छिट्टै संक्रमण दर घट्न सक्ने बताए ।

अहिले दैनिक करिब डेढदेखि दुई सयको हाराहारीमा संक्रमण पुष्टि भइरहेकोले त्यो चेकजाँच गरेका मध्येबाट भएकाले चेकजाँच नै नगरीकन घरमै बसिरहेका घरमै बसिरहेकाहरूमा अझ धेरै समस्या हुनसक्ने बताए ।

डा. पुनले यो संक्रमण विगतको भन्दा बढी घातक भने नहुने बताए । उनले भने, 'मैले तेस्रो लहरपछि कारणसहित भनेको थिए कि, पहिलो वा दोस्रो लहरजस्तो समस्या आउँदैन भनेर । मैले प्रयोग गर्दै आएको शब्द 'कम घातक' हो । तर, हामी सतर्क हुनुपर्छ, ध्यान दिनुपर्छ।' 

स्वास्थ्य मन्त्रालयले आफ्नो तर्फबाट सतर्क रहन, ध्यान दिन, मास्क लगाउन, दुरी कायम गर्न, नियमित हात धुने जस्ता कार्यहरू गर्न भनिरहेको छ । तर, माथिल्लो तहबाट नै यस्ता कुरा पालना नहुँदा संक्रमण बढेको हुनसक्ने डा. पुनको भनाइ छ । 'उच्च ओहदामा रहेका, सरकारमा रहेका ठूला व्यक्तिहरूले नै यस्ता कुराहरू पालना गरेको देखिँदैन', डा. पुन भन्छन्, 'उहाँहरू ठुला-ठुला सभा-सम्मेलनमा सहभागी भइरहनुभएको छ । माथिका मान्छेहरूले नै पालना नगर्दा तलका गरिखाने वर्गलाई मात्र सतर्क हौऔँ भनेर हुँदैन ।' 

अहिले कोभिड संक्रमणका कारण घरभित्रै बस्नुपर्ने, लुक्नुपर्ने अवस्था नभए पनि सतर्क भने रहनुपर्ने उनको भनाइ छ । पहिलेकै जस्तो भयावह स्थिति भने अब नआउने उनले बताए । 'मौसमी फ्लु फैलिएमा हामीले के गछौँ? डेंगु फैलिएमा के गर्ने ? त्यो दृष्टिकोणबाट अब हेर्नुपर्छ होला,' उनले भने, 'पहिलेको जस्तै कोभिडकै कारण मृत्यु हुनेहरूको संख्या धेरै नहुन सक्छ । यद्यपि, अहिलेको संक्रमणबाट मृत्यु नै हुँदैन भन्ने चैँ होइन । तर, मृत्यु हुनेको संख्या कम हुनसक्छ ।'

बढ्दै संक्रमितको

पछिल्लो २४ घण्टामा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुईहजार २९२ जनामा परीक्षण गरिएको थियो ।

५ वैशाखको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हाल ३९७ जना सक्रिय संक्रमित छन् । आईसीयूमा ८ जना र भेन्टिलेटरमा ४ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । संस्थागत आइसोलेसनमा २२ जना छन् । 

पाँच जनाको मृत्यु

पछिल्लो समय फैलिएको संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २८ चैतमा १ जना, २९ चैतमा १ जना, ४ वैशाखमा १ जना र ५ वैशाखमा २ जनाको गरी गरी हालसम्म ५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १८:१२
Weather Update