सेवाग्राहीसँग घुस लिएका असई र वरिष्ठ हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक (असई) शर्माप्रसाद यादव र प्रहरी वरिष्ठ हवल्दार मन्जितकुमार झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका प्रहरी चौकी कान्तिबजार महोत्तरीका यादव र झाविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनीहरूले महोत्तरी जिल्ला अदालतमा चलेको निषेधाज्ञा मुद्दामा भएको अन्तिम आदेश (फैसला) कार्यान्वयन गरी आवश्यक मुचुल्का तयार पार्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएका थिए।
उनीहरूविरुद्ध आयोगले २० हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना दुवै सजायको माग गरेको छ।
प्रकाशित मिति: आइतबार, चैत २५, २०८० १७:५९













