
काठमाडौं — गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले शपथ लिएका छन्।
मुख्यमन्त्री अधिकारीलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पद तथा गोपनियताको शपथ गराएका हुन्।
मुख्यमन्त्रीसँगै माओवादीका हरिबहादुर चुमान र स्वतन्त्र सांसद दीपक मनाङेले पनि मन्त्रीको शपथ लिएका छन्।
प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई आइतबार नै मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
अधिकारीले आइतबार बिहान मात्रै मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) समेतको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
सभामुख समेतको समर्थनमा मुख्यमन्त्री बन्नु असंवैधानिक भएको भन्दै कांग्रेस गण्डकी सर्वोच्च जाने तयारीमा छ।