News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
भाकल गरी पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने ताप्लेजुङको ‘सिङ्जेमा ताल’
तस्बिर: दिलकुमार लिम्बू/रासस

फुङ्लिङ (ताप्लेजुङ) — जैविक विविधता र प्राकृतिक सुन्दरताले भरिपूर्ण ताप्लेजुङको सिङ्जेमा ताल पर्यटकीय गन्तव्य बनेको छ। तालको बारेमा इन्टरनेटको माध्यमबाट प्रचार हुन थालेपछि जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको हो। आगामी नयाँ वर्षको अवसरमा सिङ्जेमा ताल घुम्न आउने पर्यटकको सङ्ख्या गतवर्षको तुलनामा बढ्ने स्थानीको अनुमान छ। गएको दसैँ तिहारको अवधिमा झण्डै पाँच सय आन्तरिक तथा बाह्य पर्यटकले सिङ्जेमा ताल क्षेत्रको भ्रमण गरेको फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाले बताए।

 हाल निर्माणाधीन तमोर कोरिडोर सडक नयाँ वर्षको बेला आलोङचुङगोला जोडिने भएपछि सिङ्जेमा ताल घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुने वडाध्यक्ष लामाको अनुमान छ। उनका अनुसार पूर्वको विभिन्न जिल्ला र काठमाडौं लगायतका ठाउँबाट सिङ्जेमा क्षेत्रमा पर्यटक आउने गर्छन्। नयाँ वर्षमा करिब छ सयको संख्यामा आन्तिरक तथा बाह्य पर्यटक आउने अनुमान स्थानीयको छ।

सिङ्जेमा ताल फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुङगोलामा पर्दछ। यो ताल ओलाङचुङगोलाको बस्तीबाट एक दिनको पैदल दूरीमा अवस्थित छ। समुद्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको यस तालको क्षेत्रफल र गहिराईको मापन हुन सकेको छैन। ताललाई एक फन्को लगाउन एक घण्टा भन्दा बढी समय लाग्छ। प्राकृतिक रुपमा मनोरम मात्रै नभइ स्थानीयले यस ताललाई धार्मिक महत्वको रुपमा पनि लिने गरेका छन्। तालमा भाकल गरी पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने स्थानीयको विश्वास छ।

Prabhu Bank

यस्ताे छ सिङ्जेमा तालको किंवदन्ती 

तालसँग जोडिएका केही पुराना किंवदन्ती छन्। स्थानीयका अुनसार यस तालको किनारमा एकजना स्थानीय भोटे बसिरहेको बेला तालबाट एउटा चौँरी निस्कियो। त्यो चौँरीको गोबर भोटेले घरमा लगेपछि उनी धेरै सम्पन्न भएका थिए। स्थानीय फुजुङ शेर्पाका अनुसार धेरै वर्ष अगाडि त्यस तालको छेउमा भेडीगोठ बस्दा पोखरीबाट एउटा भेडाको थुम्बा निस्केर बगालमा मिसियो। त्यसलाई गोठालाले मारेर खाए। त्यसपछि फेरि तालबाट दुई वटा भेडा निस्कियो। ती दुई भेडाले बगालको सबै भेडालाई सुंघे। त्यसपछि बगालको सबै भेडा तालमा पसे र हराए। तालको उत्तरतिर पूजा गर्नको लागि एउटा थान बनाइएको छ। यस थानमा त्यहाँ पुग्ने जो कोहीले भाकल गर्ने चलन छ। तालमा जाँदा बिहान चोखो मुखमा जाने र आफूसँग जे छ त्यही चढाउने चलन छ। त्यसैले प्राय दर्शनार्थीले पूजा थानमा गरगहना, घडी, औंठी, चुरा लगायतका सामान चढाएको देखिन्छ। कसैले सुन, चाँदी पैसा नगद सिक्का चढाउने गरेका छन्। तर ती भेटी, गहनाको संकलन र उचित व्यवस्थापन हुनसकेको छैन। कतिपयले तालमा पुगेपछि आफ्नो भाग्य देख्न सक्छन् भन्ने विश्वास समेत छ।

सिङ्जेमा ताल पुग्नको लागि ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि तमोर कोरिडोरको कच्ची सडक भएर गाडीमा ओलाङचुङगोला सम्म जान सकिन्छ। ओलाङचुङगोला पुगेर भोलिपल्ट जदाक, देउमा हुँदै तालभन्दा दुई-तीन घण्टा मुनिको छेर भन्ने ठाउँको चौँरीगोठमा बास बस्न पुग्नुपर्दछ। तालक्षेत्र जाने बाटोमा होटल, चिया पसल जस्ता कुनै आवासीय सुविधायुक्त घर छैनन्। आफुलाई आवश्यक सामग्री आफैले बोक्नुपर्दछ। चौँरी गोठमा खाना, चिया र सुत्नका लागि सामान्य व्यवस्था हुन्छ।

यसरी पुग्न सकिन्छ सिङ्जेमा ताल

चौँरीगोठबाट भोलिपल्ट तीन-चार घण्टाको यात्रापछि तालमा पुग्न सकिन्छ। तालको अवलोकन र दर्शन पश्चात गोठमा आइपुगेर खाना खाएर ओलाङचुङगोलासम्म फर्किन सकिन्छ। व्यवस्थित यात्राका लागि टेन्ट, स्लिपिङ ब्याग लगायतको सामग्री लिएर जान सकिन्छ। ताल क्षेत्रमा जाने उपयुक्त मौसम  वैशाख अन्तिम देखि असोज पहिलो हप्ता सम्म हो।

वैशाखदेखि असोजसम्म यस क्षेत्रमा गोठ बस्ने भएकाले बास बस्न सजिलो हुन्छ। अरु बेलामा गोठ नबस्ने र चिसो मौसममा हिउँ पर्ने भएकाले यात्रा कठिन हुने गर्दछ। त्यसो त यस तालको दर्शन गर्न जाने परम्परा धेरै पुरानो हो। तर त्यतिबेला यहाँ पुग्नेहरु ओलाङचुङगोला आसपासका मात्रै हुन्थे। लेलेप, तापेथोक, लुङथुङ, हेल्लोक, इखाबु, लिङखिम, खेजेनिम क्षेत्रका मानिस तालको दर्शनमा जाने चलन थियो। यो तालको बारेमा ती स्थानीयलाई बाहेक थाहा थिएन। तर पछिल्लो समय सिङ्जेमा तालको दर्शनमा जानेको सङ्ख्या बढ्दो छ। 

गतवर्षको वैशाख अन्तिमतिर दैनिक पर्यटकको एक समूह ताल भ्रमण गर्न गएका थिए। स्थानीय गोठवाला तेम्बा शेर्पाले पर्यटकीय यामको बेला दैनिक छ देखि १२ जनासम्मलाई खाना र बास दिँदै आएको बताए। पैदल हिँड्ने बाटोमा जम्मा तीन वटा चौँरी गोठ मात्र छन्। गोठालाले ताल घुम्न आउने पर्यटकलाई लक्षित गरी चामल, तरकारी, नुन, तेल, मसला र ओढ्ने ओछ्याउनेको व्यवस्था गरेका छन्। एउटा गोठमा दश जनासम्मलाई बास दिन सकिने स्थानीय गोठाला फुजुङ शेर्पाले बताए। विगतमा साउन र भदौमा मात्रै ताल घुम्न आउने भएपनि अहिले तालको प्रचारप्रसार भएसँगै बैसाख लाग्नुअघिदेखि पर्यटकको आगमन हुन थालेको स्थानीय तेम्बा शेर्पाको भनाइ छ।

पर्यटकीय गन्तव्य बन्दै सिङ्जेमा ताल

ओलाङचुङगोलाबासीका अनुसार युट्युबर र सामाजिक सञ्जाल प्रयोगकर्ताले तालको प्रचार गरेपछि पर्यटकको आकर्षण बढेको  हो। ताल भ्रमण गर्न वार्षिक  कति पर्यटक आए भन्ने तथ्याङ्क राखिएको छैन।  सिङ्जेमा ताल कञ्चनजङ्घा संरक्षण क्षेत्रमा पर्ने भएकाले यसको संरक्षण र व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकार र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को हो। 

सिङ्जेमा तालमा पछिल्लो समय चलचित्र छायाङ्कन, वृत्तचित्र बनाउनेको सङ्ख्या बढेको छ। यस क्षेत्रमा चलचित्र, वृत्तचित्र खिच्न र ड्रोन क्यामरा प्रयोग गर्न परिषद्को स्वीकृति अनिवार्य रहेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १५:४०
Weather Update