
मुगु — हरेक वर्ष आधा शैक्षिक सत्र सकिएपछि मात्र पाठ्यपुस्तक देख्न पाउने मुगुका विद्यार्थीले यो वर्ष भने शैक्षिक सत्रको शुरुमै पाठ्यपुस्तक पाउने भएका छन्। शैक्षिक सत्र शुरु हुनु एक हप्ता बाँकी छँदै मुगु जिल्लामा पाठ्यपुस्तक पुगेपछि मुगाली विद्यार्थीहरूले नयाँ कक्षामा प्रवेश गर्दै हातहातमा पुस्तक पाउने छन्। विगतका वर्षहरूमा विद्यार्थीहरूले वार्षिक परीक्षा आइसक्दा पनि पुरै विषयका पुस्तक नपाउँदा अधुरो पढाई मै परीक्षा दिन बाध्य थिए।
जिल्लाका चारवटा स्थानीय तहहरू मध्ये शुक्रबारसम्म छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरूका लागि आवश्यक पुस्तक बिक्रेताहरूले पालिका केन्द्रहरूमा पुर्याइ सकेका छन्। छायाँनाथ रारा नगरपालिकामा रहेका ४५ सामुदायिक विद्यालयका लागि पहिलो चरणमा ४ हजार ५ सय सेट पुस्तक जिल्लामा पुगिसकेको पुस्तक बिक्रेता जयलक्ष्मी पुस्तक पसलका प्रोपाइटर लक्ष्मी भामले जानकारी दिए।
जनक शिक्षामा पुस्तक पर्याप्त नछापिँदा विद्यार्थीलाई समयमै सबै विषयका पुस्तक दिन नसकिएको भन्दै यो वर्ष उक्त समस्याबाट छुटकारा पाएकोले समयमै पुस्तक विद्यार्थीलाई उपलब्ध गराउने छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले बताए।

उनले भने, ‘विगत वर्षहरूमा जनक शिक्षामा पनि पुस्तक अभाव थियो। जिल्लामा पुस्तक नै नआउँदा विद्यार्थीले सबै विषयको पुस्तक पाउँदा वार्षिक परीक्षा नै आइसकेको हुन्थ्यो। यसपालि समय मै पुस्तक ल्याउन ताकेता गरेका थियौ र जनक शिक्षाले पनि प्रर्याप्त पुस्तक समय मै छपाएको पाइयो। अब विद्यार्थीले भर्नासँगै पुस्तक हातहातमा पाउँछन्।’ उता जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकाका विद्यालयमा पनि समयमै पुस्तक पुग्ने भएको छ। शुक्रबार सदरमुकाम गमगढी पुगेको पुस्तक शनिबार बिहानै सदरमुकामबाट सोरु गाउँपालिका पुर्याइएको छ।
पालिकाका शिक्षा शाखा प्रमुख विरेन्द्र मल्ल भन्छन्, ‘यहाँ रहेका ३८ वटा सामुदायिक विद्यालयहरूका लागि आवश्यक पुस्तक उपलब्ध गराउने जिम्मा शाही जनरल अडर एण्ड सप्लायर्सलाई दिइएको थियो। पालिकाभित्रका ४ हजार ७ सय ७१ जना विद्यार्थीका लागि सबै विषयका पुस्तक पालिकामा आइपुगेको छ । २७ गतेबाट विद्यार्थीलाई पुस्तक दिन्छौं।’
मुगुम कार्मारोङ्ग गाउँपालिकामा रहेका १६ वटा सामुदायिक विद्यालयका एक हजार २ सय विद्यार्थीका लागि आवश्यक पुस्तक उपलब्ध गराउने जिम्मा लिएको युके स्टेसनरीले पनि समयमै पुस्तक पुर्याउने जनाएको छ। शुक्रबार जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेशबाट पुस्तक बुझिसकेको र बुधबारसम्म पालिका केन्द्रमा पुस्तक पुगिसक्ने मुगुम कार्मारोङ्ग गाउपालिका शिक्षा शाखा प्रमुख सुवास रावलले जानकारी दिए।
जिल्लाको शैक्षिक क्षेत्रमा अगाडि रहेको खत्याड गाउँ पालिकामा रहेका ४० वटा सामुदायिक विद्यालयका लागि आवश्यक पुस्तक आइतबार नै पालीकामा पुर्याई वितरण कार्य शुरु भइसकेको छ। शैक्षिक सत्र वैशाख १ गतेबाट शुरु हुन्छ । १५ गतेसम्म विद्यालयमा भर्ना अभियान चल्छ । मुगु जिल्लामा १३९ वटा सामुदायिक विद्यालयहरु सञ्चालनरत छन।
‘केन्द्र सरकारले लिएको पहलका कारण यो वर्ष चैतभित्रै दुर्गम जिल्ला मुगुमा पुस्तक आइपुगेको छ। दुर्गमका विद्यार्थीले सबै पाठ्यवस्तु पढेविना नै वार्षिक परिक्षा दिनुपर्ने बाध्यताको मुगुमा यो वर्ष अन्त्य भएको छ। शिक्षक,विद्यार्थी र अभिभावक खुशी छन्,’ शिक्षा विकास तथा समन्वय इकाई मुगुका निमित्त प्रमुख खड्कराज भियाल भने। सरकारले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई सबै विषयका र कक्षा ११ र १२ का विद्यार्थीलाई अनिवार्य विषयका पुस्तक निशुल्क उपलब्ध गराउँदै आएको छ।













