News Griha :: न्यूजगृह
उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं — निर्वाचन आयोगले सार्वजनिक गरेको उपनिर्वाचन कार्यसूची अनुसार आइतबार  उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ। आयोगका अनुसार आज उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र तथा उजुरी उपर जाँचबुझ गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ। 

चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम छ।

आगामी वैशाख १५ गते बिहान ७ देखि साँझ ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगले जनाएको छ। 

निर्वाचन आयोगले  शनिबार इलाम र बझाङ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गरेको थियो। आयोगका अनुसार इलाम २ को उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ र ८ स्वतन्त्र उम्मेदवार २० जनाको मनोनयनपत्र दर्ता भएको छ। मनोनयनपत्र दर्ता गर्ने २० जना सबै पुरुष छन्।

बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएको आयोगले जनाएको छ। जसमध्ये एक महिला र ११ पुरुष छन्।  

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ०९:१५
Weather Update