लुम्बिनीका मुख्यमन्त्री महराले शपथग्रहण गर्दै

दाङ — लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आइतबार पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन्।
प्रदेश प्रमुखको कार्यालय बुटवलमा दिउँसो पौने दुई बजे शपथ ग्रहणको कार्यक्रम राखिएको प्रदेश प्रमुख अमिक शेरचनका प्रमुख स्वकीय सचिव नारायण प्रसाद आचार्यले जानकारी दिए।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले राजीनामा दिएपछि ४८ प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा शुक्रबार मुख्यमन्त्री नियुक्त भएका थिए।
महराले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारीसमेत गरेका छन्।
सबै सत्ता साझेदार दलबाट कम्तिमा एक/एक जनालाई समेटेर मन्त्रिपरिषद् गठन गर्ने तयारी भइरहेको स्रोतले बतायो।
त्यसका लागि सत्ता साझेदार दलका नेताहरूबीच छलफल भइरहेको छ।
प्रकाशित मिति: आइतबार, चैत २५, २०८० ०८:४४