
काठमाडौं — पूर्वमन्त्री राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा शनिबार काठमाडौंमा भएको झडपमा प्रहरी जवान रामसिंह बोहरा गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले निषेधित क्षेत्र तोड्न खोज्ने प्रदर्शनकारीलाई रोक्न खोज्दा प्रहरी जवान घाइते भएको बताए।
उनले भने, 'राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले बाध्य भएर बल प्रयोग गर्नुपर्यो, सो क्रममा प्रहरी सहायक निरीक्षकसहित पाँचजना घाइते भए, प्रहरी जवान बोहरा बोल्न नसक्ने अवस्थामा छन्।'
गम्भीर घाइते बोहराको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गरी थप उपचारका लागि नेपाल प्रहरीको अस्पातल लैजाने तयारी भएको प्रवक्ता अधिकारीले बताए। झडपमा प्रदर्शनकारीले ढुङ्गामुढा प्रहार गरेको प्रहरीले जनाएको छ। प्रदर्शनकारी तर्फका १२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।













