
दाङ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले मिलेर सरकार चलाउने विषयमा कांग्रेस र एमालेबीच गृहकार्य भइरहेको बताएका छन्।
दाङमा शनिबार पत्रकारसँग नेता भण्डारीले देशलाई राजनीतिक स्थायित्व दिन र विकास निर्माणका कामलाई अघि बढाउन कांग्रेस र एमालेले सहकार्य गर्नुपर्ने बारे छलफल भइरहेकाले वर्तमान सरकार धेरै नटिक्ने बताएका हुन्।
उनले केही महिनामै वर्तमान सरकार ढल्ने दाबी गरे।
‘केही महिना भित्रै नेपाली कांग्रेस र नेकपा एमाले बीचमा गठबन्धनको नयाँ सरकार बन्छ, यो सरकार आफ्नै कारण हनिमुन पिरिएड नसकिँदै ढल्छ,’ उनले भने।
स्थिर सरकारका कारण जनतालाई सेवा प्रवाहमा कठिनाइ भएको र विभिन्न तत्वहरूले खेल्ने मौका पाएकाले कांग्रेस र एमाले मिलेर सरकार चलाउन आवश्यक रहेको पनि भण्डारीले बताए।
‘पछिल्लो समय नेपाली राजनीतिमा केही डरलाग्दा परिदृष्यहरू देखा परिरहेका छन्,’ नेता भण्डारीले भने ‘ त्यसका लागि दुई ठूला राजनीतिक शक्तिका बीचमा कार्यगत एकता कायम गरी त्यसखालका परिदृष्यलाई परास्त गर्न जरुरी छ।’
नेपाली कांग्रेस र नेकपा एमाले फरक राजनीतिक विचारबाट प्रभावित भएपनि सरकार सञ्चालन गर्न र जनतालाई सेवा प्रवाह गर्ने सवालमा सहकार्य हुने उनको उनले बताए।