News Griha :: न्यूजगृह
जुम्ला पुगेर पूर्वराजाले के भने? [पढ्नुहोस् पूर्णपाठ]
फाइल तस्बिर।

काठमाडौं — पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा सर्वपक्षीय सम्मेलन र नयाँ सम्झौताको पक्षमा जनमत बढेको बताएका छन्।

जुम्लाको खलङ्गामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भन्, ‘अब सुध्रौँ, अब चेतौँ र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाऔँ, मार्ग सुधार गर्दै नयाँ समझदारी गरौँ।’

उनले थपे, ‘आज, हिजो होइन, हामी आफैं बदलिरहेका छौं। परिवर्तन साँच्चै पीडादायी भए पनि सधैँ आवश्यक हुन्छ। याद होस्, संसारको पाङ्ग्रा सधैँ आफ्नो गतिमा चलिरहेको हुन्छ। यो संसारमा जे आउँछ, त्यो रहँदैन र जाने कुरा हराउँदैन। अब सुध्रौँ, अब चेतौँ र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाऔँ, मार्ग सुधार गरौँ, नयाँ समझदारी, नयाँ संवाद, नयाँ वार्तालाप, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौं भन्ने जनमत बढ्दै गइरहेको हाम्रो अनुभव छ।’

राष्ट्रको पुरानो गौरव फर्काउन आफ्नै पाखुराको बलमा अघि बढ्न कम्मर बस्न देशवासीलाई पूर्वराजा शाहले आह्वान गरेका छन्।

उनले अगाडि भने, ‘आज देश कता जाँदैछ तपाईँहरूलाई थाहै छ। हाम्रो अपार सम्पदा हुँदाहुँदै पनि हामी परनिर्भरतातिर गइरहेका छौं। आफ्नै भूगर्भभित्र अथाह धनधान्य छ। तर, खान, काम खोज्न हामी भौतारिइरहेका छौं। कालीकोट, मुगु, हुम्ला, डोल्पा र यहाँ के छैन? त्यसैले म भन्छु। अब हामी राष्ट्रको पुरानो गौरव फर्काउन जुटौं, देश बनाउन उठौं र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौं।’  

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १८:३२
Weather Update