News Griha :: न्यूजगृह
इलाम २ उपनिर्वाचन : १३ जनाले गराए उम्मेदवारी दर्ता

काठमाडौं — आउँदो वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि १३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार मनोनयन दर्ताको लागि तोकिएको समयमा १३ जनाले दर्ता प्रमाणपत्र बुझेका छन्। 

शनिबार १० बजेबाट सुरु भएको निर्वाचन प्रक्रियामा जनमत पार्टीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पहिलो क्रममा मनोनयन दर्ता गराएको छ। जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङले सुरुमै मनोनयन दर्ता गराएका हुन्।

मनोनयनअघि चर्चामा नै नआएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले दोस्रो क्रममा मनोनयन दर्ता गरेको छ। नेमकिपाबाट मोरङका श्यामबहादुर दर्जीले उम्मेदवार दर्ता गराएका हुन्।

जनमत पार्टी र नेमकिपाले इलाम–२ मा अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका थिएनन्। तेस्रोमा डाकप्रसाद गौतमले मनोनयन दर्ता गराएका छन्। गौतमले यसपटक भने स्वतन्त्र उम्मेदवारी दिएका छन्।

एकीकृत समाजवादीका तर्फबाट जितबहादुर राईले उम्मेदवारी दर्ता गराए। मुख्य प्रतिस्पर्धीका रुपमा रहेका कांग्रेसका डम्बर खड्काले पनि केन्द्रीय नेताहरूसहित स्थानीय कार्यकर्ताको साथ लिएर मनोनयन दर्ता गराए। जिल्ला सभापतिसमेत रहेका खड्का गत निर्वाचनमा सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए। 

एमालेका तर्फबाट सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन्। उनी दिवंगत नेता सुवासचन्द्र नेम्वाङका छोरा हुन्। उनले दलबलसहित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका। उनलाई माओवादी केन्द्रले पनि साथ दिएको छ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले मनोनयनपत्र दर्ता गराएका छन्।

रास्वपा उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीसहितको टोलीसँग मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर लिम्बूले मनोनयन पत्र दर्ता गराए। दर्ता प्रक्रिया अझै नसकिएकाले प्रतिस्पर्धी बढ्न सक्ने आकलन गरिएको छ। 

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १८:२२
Weather Update