News Griha :: न्यूजगृह
छिपछिपे सहकारीको १० करोड बढी रकम हिनामिना गरेको आरोपमा पाण्डे पक्राउ

पूर्वी नवलपरासी — कावासोतीमा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाका व्यवस्थापक एवम् सञ्चालक समितिका पूर्वअध्यक्ष योगेन्द्र पाण्डेलाई संस्थाको १० करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक नरहरि रेग्मीले पाण्डे प्रहरी हिरासतमा रहेको जानकारी दिए। पाण्डेलाई पक्राउ पुर्जी जारी भएअनुसार शुक्रबार पक्राउ गरेको हो। 'पक्राउ पुर्जी जारी भएपछि नै पक्राउ गरेका हौँ। अहिले उनीमाथि अनुसन्धान भइरहेको छ, धेरै भन्नुपर्ने केही छैन,' उनले भने।

पीडित बचतकर्ताले गत बिहीबार कारबाहीका लागि दिएको निवेदन प्रहरीले दर्ता गरेको छैन। अघिल्लो सञ्चालक समितिका अध्यक्ष र व्यवस्थापन एउटै व्यक्ति पाण्डे थिए । हाल त्यो संस्थामा पाण्डे व्यवस्थापक छन्। उनी आफैँले ३२ लाख कर्जा लिएर चुक्ता समेत नगरी नक्कली कागजातका आधारमा मालपोतबाट आफ्नो धितो फुकुवा गरेको समेत पाइएको प्रहरीले जनाएको छ।

हाल त्यो संस्थामा गोपी शर्मा भुसाल अध्यक्ष छन्। उनी त्यस अघिको समितिको लेखा समितिको संयोजक रहेका थिए । भुसालले पनि अनियमितता गरेको अनुसन्धानका क्रममा खुलेको छ। सञ्चालक समिति र व्यवस्थापकको मिलोमतोमा उपभोक्ताको १० करोड भन्दा बढी रकम हिनामिना भएको पाइएको छ। निमुखा बचतकर्ता दिनहु बचत रकम लिन कार्यालयमा धाउदा समेत पाएका छैनन्।

०७२ सालदेखि ०७९ साल सम्म एउटै व्यक्ति संस्थाको अध्यक्ष र व्यवस्थापक भएर ब्यापक हिनामिना गरेको पाइएको हो। सहकारी संस्थाका त्यतिबेलाका अध्यक्ष तथा व्यवस्थापक योगेन्द्र पाण्डेले सहकारीको रकम मिटर ब्याजमा समेत लगानी गरेको पाइएको छ।

गण्डकी प्रदेश सहकारी रजिस्टार कार्यालयका प्रमुख भेषराज रिजालले पाण्डेले सहकारीकै पैसा झिकेर मिटर ब्याजमा लगाएको र बिनाधितो आफै र आफु नविकका ब्यक्तिलाई कर्जाप्रबाह गरेको समेत छानविनकाक्रममा देखिएको टेलिफोनमा जानकारी दिए।'कति रकम मिटर ब्याजमा लगाएका हुन् भनेर अहिले नै खुलाउन मिल्दैन,' उनले भने।

छिपछिपे उपभोक्ता सहकारी संस्थामा १० करोड भन्दा बढी रकम हिनामिना भएको समाचार शुक्रबार कान्तिपुरमा प्रकाशित भएको थियो। रकम हिनामिना गर्ने योगेन्द्र पाण्डे बर्दिया निवासी हुन्। हाल उनले कावासोती नगरपालिका वडा नम्बर २ मा घर बनाएर बसेका छन्।

व्यवस्थापक पाण्डेले कावासोती नगरपालिका-१० मा रहेको आफ्नो १० धुर जग्गा धितो राखेर ०७९ पुसमा आफ्नै संस्थाबाट आफैँले ३२ लाख ऋण लिएका छन्। ऋण लिँदा धितो राखेको जग्गा त्यसको एक महिनापछि पुसमा आफैँले नक्कली काजगात बनाएर मालपोत कार्यालयबाट फुकुवा गरिसकेको देखिन्छ। उनले मालपोत कार्यालयबाट आफ्नो जग्गा फुकुवा गराए पनि कर्जा भने तिरेका छैनन्।

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १६:०४
Weather Update