News Griha :: न्यूजगृह
सुनसरीको अवस्था सामान्य बन्दै, कर्फ्यु भने कायमै
जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको हरिनगर गाउँपालिकाको भुटाहा बजारमा शुक्रबार परिचालित सशस्त्र प्रहरी, तस्बिर : नवीन गड्तौला/रासस

काठमाडौं — सुनसरीको हरिनगर र देवानगन्ज गाउँपालिका क्षेत्रमा दुई समूहबीच भएको झडपपछि उत्पन्न भएको अवस्था सामान्य बन्दै गएको छ।

दुई समूहका बीचमा हिजो बिहानैदेखि ठाउँ ठाउँमा झडप भएपछि जिल्ला प्रशासनले हिजो साँझबाट सुनसरीका ५ वटा पालिकाहरूमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु जारी गरेको थियो।

सुनसरीको अवस्था सामान्य बन्दै गएको सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदनिधी फुयालले जानकारी दिए।

‘साँझबाट कहीँकतै पनि झडप र प्रदर्शन भएको सूचना आएको छैन,’ उनले भने, ‘अवस्था सामान्य बन्दै गएको छ। परिस्थिति नियन्त्रणभन्दा बाहिर छैन।’

बिहीबार एसईई परीक्षाको क्रममा हरिनगर गाँउपालिका-१ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समुदाय बीचमा तनाव बढेको हो। दुवै समूहका स्थानीहरू झडपमा उत्रिएपछि शुक्रबार बिहानैबाट तनाव सिर्जना भएको हो।

बिहीबार साँझ स्थानीय जीवन मेहतामाथि कुटपिट भएको थियो। मेहतामाथि कुटपिट भएपछि दुवै समूहका बीचमा झडप भएको थियो। स्थिति थप बिग्रन नदिन सो क्षेत्रमा निषेधाज्ञा जारी गरिए पनि अवस्था सामान्य बन्न नसकेको हो। 

यसैबीच सुनसरीका राजनीतिक दलहरूले अपिल जारी गर्दै सद्भाव कायम गर्न आग्रह गरेका छन्। नेपाली कांग्रेस सुनसरीले अपिल जारी गर्दै द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्‍याउन सक्ने भन्दै चिन्ता प्रकट गरेको छ।

अपिलमा भनिएको छ, ‘परापूर्व कालदेखि विभिन्न जातजाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेको मात्रै होइनौँ, राष्ट्र निर्माण र विकासका लागी हातेमालो गर्दै आएका छौं। नेपालीको भावना र चाहना विपरीत धार्मिक सामाजिक सद्भाव भड्काउने गतिविधि हामी कसैको पनि हितमा छैन, हुन सक्दैन।’

यस्तै नेकपा एमाले सुनसरीले पनि धार्मिक सहिष्णुता कायम राख्न आग्रह गरेको छ। घटनाका विषयमा अनुसन्धान भइरहेकाले दोषी उपर कारबाही हुने भन्दै सबैलाई शान्त रहन आग्रह गरेको छ।  

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  ०७:४५
Weather Update