
काठमाडौं — आगामी वैशाख १५ मा हुने उपनिर्वाचनको लागि इलाम- २ र बझाङ (१) मा आज उम्मेदवारी दर्ता हुँदैछ।
निर्वाचन आयोगका अनुसार उपनिर्वाचनका लागि आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले उम्मेदवारी दर्ता गर्न सक्नेछ।
आजै बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ। चैत्र २६ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगका प्रवक्ता शालिराम शर्मा पौडेलले जानकारी दिए।
निर्वाचन कार्यक्रमअनुसार २०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।उपनिर्वाचनका लागि विभिन्न दलहरूले आफ्ना उम्मेदवार टुंगो लगाएका छन्। नेकपा एमालेले इलाममा सुहाङ नेम्बाङ र बझाङमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
नेकपा माओवादीले इलाममा आफ्नो उम्मेदवारी नदिनेको भएको छ। इलाममा एमालेलाई सघाउने भएको छ भने बझाङमा उम्मेदवारी दिने कुनै निर्णय गरेको छैन।
यस्तै नेपाली कांग्रेसले इलाममा डम्बरबहादुर खड्का र बझाङमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले इलाममा मिलन लिम्बूलाई उठाएको छ भने राप्रपाले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। जसपाले प्रेमदिप थाम्सुहाङ र राप्रपा नेपालले गणेशबहादुर चौहानलाई उम्मेदवार बनाउने निर्णय गरेका छन्। यसपटकको उपचुनावमा इलाममा एमाले र माओवादी बाहेक सबै छुट्टाछुट्टै भिड्दै छ।