News Griha :: न्यूजगृह
बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं — काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ६ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१२ बस्ने वर्ष ३३ को अमृत थापा छन्।

उनीविरुद्धको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट २०८० जेठ ५ गते ६ दिन कैद र जाहेरवालालाई १६ लाख रुपैयाँ बिगो भराइ, बिगो बमोजिम १४ लाख २१ हजार ४०० रुपैयाँ जरिवाना तथा क्षतिपूर्ति बापत पीडित राहत कोषमा ६४ रुपैयाँ जम्मा गराउने ठहर भएको थियो।

फरार रहेका थापालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बिहीबार मीनभवनबाट पक्राउ गरेको हो।

उनलाई फैसला कार्यान्वयनका लागि शुक्रबार ललितपुर जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  २१:०२
Weather Update