News Griha :: न्यूजगृह
इलाम २ मा कांग्रेसलाई पहिले भन्दा सहज छ, चुनाव जित्छु : डम्बर खड्का

काठमाडौं — इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट उम्मेदवार बनेका डम्बर खड्काले अघिल्लो पटक भन्दा यसपालि चुनाव जित्न सहज भएको दाबी गरेका छन्। 

शुक्रबार बिहान काठमाडौं भएको अन्तरक्रियामा उनले २०७९ को प्रतिनिधि सभा निर्वाचनमा भन्दा यस पटक कांग्रेसलाई प्रतिस्पर्धा गर्न सहज भएको बताए।

खड्का ६ जना आकाङ्क्षीलाई पछि पार्दै उपनिर्वाचनका लागि आधिकारिक उम्मेदवार बनेका हुन्। 

‘अघिल्लो पटक राष्ट्रिय रुपमा स्थापित एमाले नेता सुवासचन्द्र नेम्वाङसँग चुनाव लड्नुपर्दा माहोल फरक थियो। अहिले इलामको भूगोल, अवस्थिति र मतदाताको मनोविज्ञान राम्रोसँग नबुझेका कम अनुभवी युवाहरूसँग चुनावमा प्रतिस्पर्धा गर्नुपर्दा केही सहज भएको छ,’ उनले भने, ‘यस पटक कांग्रेसलाई हार्ने छुट छैन। मेरो काँधमा पार्टीको भविष्य छ। त्यसैले सबै एकजुट भएर चुनावी अभियानमा सक्रिय बन्नुपर्छ।’

खड्कालाई सभापति शेरबहादुर देउवाले दोस्रोपटक अवसर दिएका हुन्। गत २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा खड्का एमाले उपाध्यक्ष नेम्वाङसँग झिनो मतान्तरले पराजित भएका थिए। नेम्वाङले ३० हजार २० मत ल्याएर विजयी हुँदा खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए। 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १२:२८
Weather Update