News Griha :: न्यूजगृह
दोलखामा नर्सिङ पढ्दै गरेकी किशोरीले गरिन् आत्महत्या

काठमाडौं — दोलखामा होस्टलको पाँच तलामाथिबाट फाल हान्दा १८ वर्षीया किशोरीको मृत्यु भएको छ। 

कास्कीको पोखरा महानगरपालिका—१० रामबजार घर भई हाल दोलखामा बसेर नर्सिङ पढ्दै गरेकी १८ वर्षीया करुणा अधिकारीको पाँच तला माथिबाट फाल हान्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। 

‘उनी चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेजमा नर्सिङ पहिलो वर्षमा अध्ययनरत रहेको खुलेको छ,’ प्रहरी निरीक्षक जीवन श्रेष्ठले भने, ‘उनले आत्महत्या गर्नुको कारण खुलेको छैन। तर, होस्टल सञ्चालकका अनुसार उनले डिप्रेसनको औषधि खाइरहेकी थिइन्। हामी थप अनुसन्धान गरिरहेका छौँ।’

बिदामा पोखरास्थित घर गएकी उनी गएको बुधबार मात्र चरिकोट फर्किएकी थिइन्। उनी होस्टेलमा साथीहरूसँग बस्थिन्। 

बिहीबार साँझ सवा सात बजे होस्टल रहेको बिल्डिङको पाँच तला माथिबाट खसेपछि उनी गम्भीर घाइते भएकी थिइन्। सँगै बसेका साथीहरूले उनले पाँच तला माथिबाट फाल हानेको बताएका छन्। 
स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारको लागि उनलाई भक्तपुर ल्याइएको थियो। उपचारको क्रममा गएराति ‍११ बजे उनको मध्यपुर अस्पतालमा मृत्यु भएको हो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १०:३६
Weather Update